मधेशी मोर्चा सहभागी भए दुई चरणमा निर्वाचन गर्न प्रमुख दलहरु सकारात्मक

काठमाण्डौ, ६ वैशाख । आन्दोलनरत मधेशी मोर्चाले निर्वाचनमा भाग लिए दुई चरणमा स्थानीय निर्वाचन गर्न प्रमुख दलहरु सकारात्मक देखिएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहालको आह्वानमा बुधबार बालुवाटारमा बसेको प्रमुख पाँच दलको बैठकमा प्रधानमन्त्रीले मोर्चा निर्वाचनमा सहभागी भए दुई चरणमा निर्वाचनमा जाने प्रस्ताव गरेका थिए । प्रमुख प्रतिपक्ष दल नेकपा एमाले बाहेकका अन्य दलहरुले मोर्चाको सहभागिता सुनिश्चित भए दुई चरणमा जान सकिने बताएका छन् ।

एमाले एकै चरणको निर्वाचनको पक्षमा भए पनि मोर्चा सहभागी हुने अवस्थामा सकारात्मक हुने देखिएको छ । बैठकपछि एमाले नेताहरुले दोस्रो चरणको निर्वाचनप्रति पनि सकारात्मक अभिव्यक्ति दिएका छन् । बैठकले वैशाख ३१ का लागि तय भएको निर्वाचनमा मोर्चालाई पनि सहभागी गराउन सबै दलले मोर्चासँग परामर्श गर्ने निर्णय गरेको छ ।

बैठकपछि कांग्रेस सभापति शेरबहादुर देउवाले मधेशी मोर्चाले निर्वाचनमा भाग लिने शर्तमा दुई चरणमा निर्वाचन गर्न सकिने बताए । एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले भने निर्वाचन एकै चरणमा गर्ने विषयमा सहमति भएको दाबी गरे । नेम्वाङले एकै चरणको निर्वाचनमा मोर्चालाई सहभागी गराउन सबै दलले मोर्चासँग परामर्श गर्ने निर्णय भएको बताए ।

त्यस्तै माओवादी केन्द्रका नेता तथा उर्जामन्त्री जनार्दन शर्माले केही स्थानमा दोस्रो चरणमा निर्वाचन हुने गरी छलफल भएको जानकारी दिए ।