August 19, 2017

मधेशी मोर्चा र सरकारबीच दूरी बढ्दै

काठमाण्डौ, २० चैत्र । मधेशी मोर्चासहित प्रमुख दलहरु संविधान संशोधन र स्थानीय तहको निर्वाचनबाट पुनः टाढिन थालेका छन ।

पछिल्लो पटक संविधान संशोधनलाई थाती राखेर अन्य विषयमा संशोधन प्रस्ताव अघि बढाउने, धारा २ सय ७४ पनि संशोधन गर्ने लगायतका विषयमा दलहरु सहमति नजिक भएपनि मोर्चाले थप अन्य माग राखेपछि समस्या थपिएको हो ।

मोर्चाले तराईका जिल्लामा स्थानीय तहको संख्या थप्नुपर्ने, छुटेका मतदाता थप्नुपर्ने लगायतका नयाँ माग राखेको छ । यसले वैशाख ३१ मा तोकिएको स्थानीय तहको निर्वाचनको मिति सार्नुपर्ने अवस्था आएपछि प्रधानमन्त्री पुष्पकमल दाहालले कुनै पनि हालतमा चुनाव सार्न नसकिने जवाफ दिइसकेका छन् ।

यसैबीच, प्रधानमन्त्री दाहालले आज कांग्रेस सभापति शेरबहादुर देउवा र विपक्षी दलका नेता केपी शर्मा ओलीसँग छलफल गर्दै छन् । मोर्चाको नयाँ माग, संविधान संशोधन र निर्वाचनमा सहमति जुटाउन उनले छलफल गर्न लागेका हुन् ।