August 18, 2017

मधेशी मोर्चा र सत्तारुढ दलका सांसद्हरुद्धारा फरक- फरक संशोधन दर्ता

काठमाण्डौ, १५ फाल्गुन । मधेस केन्द्रित दलले तराई मधेसका जिल्लालाई समेटेर २ वटा प्रदेश बनाउने गरी संविधान संशोधन बिद्ययेकमाथि संशोधन दर्ता गराएका छन् ।

आईतबार मोर्चाका नेताहरु संसद सचिवालयमा पुगी संसोधन प्रस्ताव दर्ता गराएका हुन् ।

मोर्चाको संशोधन प्रस्तावमा पूर्वमा झापादेखि चितवनसम्मका तराईका जिल्लाको एक प्रदेश र पश्चिममा नवलपरासीदेखि कञ्चनपुरसम्मको अर्को प्रदेश हुने पर्ने उल्लेख छ । यस्तै मधेस केन्द्रित दलले नेपाल सरकारले बहुभाषिक नीति अवलम्बन गर्दै भाषा आयोगले सिफारिस गरिएका सबै मातृ भाषालाई अनुसूचिमा राख्नु पर्ने प्रस्ताव दर्ता गरेको मोर्चाका नेता सर्वेन्द्रनाथ शुक्लले जानकारी दिएका छन् ।

त्यस्तै प्रदेशसभा गठन नहुँदासम्म ५ नम्बर प्रदेशको सीमा हेरफेर गर्नु नहुने भन्दै सत्तारुढ दलका सांसद्हरुले संविधान संशोधन विधेयकमाथि संशोधन हालेका छन् ।

नेपाली कांग्रेसका सांसद्हरु धनराज गुरुङ, अमरसिंह पुन र चन्द्र भण्डारी तथा माओवादी केन्द्रका सांसद् टोपबहादुर रायमाझीले प्रदेशसभा नबन्दासम्म सीमा परिवर्न गरिनु नहुने भन्दै संसद् सचिवालयमा संशोधन दर्ता गराएका छन् ।