October 19, 2017

मधेशी मोर्चासँग सहमति नभएपनि अब निर्वाचन रोकिँदैनः खनाल

काठमाडौं, २० चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणि खनाल ‘बलदेव’ ले मधेशी मोर्चासँग सहमति नभएपनि अब निर्वाचन नरोकिने स्पष्ट पारेका छन् ।

रिपोर्टर्स क्लबको साक्षात्कारमा सल्लाहकार खनालले पछिल्लो समय मधेशी मोर्चासँग सहमतिको प्रयास पनि भइरहेको बताए ।

खनालले प्रधानमन्त्री दाहालले समस्या समाधानको लागि आफ्नो ठाउँबाट सक्दो पहल गरिरहेको उल्लेख गरे । उनले भने, ‘सरकारले सहमतिको प्रयास गरिरहेको छ, प्रधानमन्त्रीले त झनै यसको लागि गम्भिर पहलकदमी लिनुभएको छ, वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा मोर्चालाई पनि सहमतिमा ल्याएर अघि बढ्ने हाम्रो चाहना हो ।’

उनले मधेशी मोर्चाका नेताहरुले स्थानीय तहमा पनि जनसंख्याका आधारमा संख्या थप्नको लागि आग्रह गरेको उल्लेख गर्दै भने, ‘अहिले जनसंख्याको आधारमा संख्या थप्नतिर लागियो भने, तोकिएकै मितिमा चुनाव हुन गाह्रो छ, त्यसैले चुनाव अब रोक्नुहुँदैन ।’ यद्यपी उनले मोर्चासँग पनि सहमतिको प्रयास जारी राख्ने बताए ।

मोर्चासँग ५ बुँदे सहमतिको प्रयास भइरहेको भएपनि यसको लागि सत्तारुढ दल काँग्रेस र राप्रपा, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग पनि छलफल हुने उनको भनाई थियो ।

उनले आजभोलि मै यस बारेमा प्रमुख दलहरुबीच छलफल हुने जानकारी दिए । सहमति भए फाष्ट ट्रयाकबाट संविधान संशोधन प्रस्ताव टुँगो लगाइने पनि स्पष्ट पारे ।