August 18, 2017

मधेशी मोर्चाले गरेको बन्दका कारण जनजीवन प्रभावित

दिनेश शर्मा

राजविराज, ११ फाल्गुन । मधेशी मोर्चाले आह्वान गरेको बन्दका कारण बुधबार सप्तरीको जनजीवन प्रभावित भएको छ ।

नीजि तथा सार्वजनिक यातायात, विद्यालय, कलकारखानादेखि सरकारी कार्यालय समेत पुर्ण रुपमा बन्द भएका छन् ।

बिहान १० बजेदेखिनै कार्यालय बन्द गराउँदै हिँडेका मोर्चाका कार्यकर्ताहरुले राजविराज नगरपालिकामा ढुंगामुढा गर्दै कार्यकारी अधिकृत यादवप्रसाद सापकोटाको नेम प्लेट समेत उखेलेर फ्याकी दिएका छन् ।

ढुंगामुढाबाट झ्यालका सिसाहरु फुटेका छन । बन्द गराउदै हिडेका मोर्चाका कार्यकर्ताहरुले मधेशको माग पुरा नगरी हुने स्थानीय निकायको निर्वाचन आफुहरुका लागि मान्य नहुने भन्दै नारावाजी पनि गरेका छन् ।

 

बन्दका कारण सदरमुकाम लगायत भारदह, कन्चनपुर, वरसाईन, कल्याणपुर, कदमाहा, हनुमाननगर, कुशाहा, रुपनी, कडोरवोना, बिरेन्द्रबजार, झौराहा चौक, सितापुर, तोपा, वभनगामा कट्टि, महुली समेत प्रभावित भएका छन् ।

बन्दका क्रममा हुन सक्ने सम्भावित घटनालाई मध्यनजर गरी नगर तथा राजमार्गमा ब्यापक प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।