मधेशी मोर्चाद्वारा स्थानीय तहमा तालाबन्दी

दिनेश शर्मा
राजविराज, ६ चैत । पछिल्लो पटक सरकारद्वारा घोषणा गरिएका सुनसरीका १७ वटै स्थानीय तहका कार्यालयमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका कार्यकर्ताले आईतबार तालाबन्दी गरेका छन् ।

कार्यालय खुल्नासाथ सबै गाँउपालिका र नगरपालिकामा मोर्चाका कार्यकर्ताले तालाबन्दी गरेका हुन् । मोर्चाको तालाबन्दी पछि सप्तरी जिल्लामा स्थानीय निकायबाट हुने कामकाज प्रभावित भएका छन् भने निर्वाचन सम्बन्धी तयारी पनि प्रभावित भएको छ ।

कञ्चनपुर, डाकनेशवरी, बोदेवरसाईन, खडक, शम्भुनाथ, सुरुङगा र हनुमाननगर कंकालिनी नगरपालिका तथा कृष्णसवरण, छिन्नमस्ता, महदेवा, तिरहुत, तिलाठी कोईलाडी, रुपनी, बेल्ही चपेना र विष्णुपुर गाउँपालिकामा तालाबन्दी गरिएको हो ।

यसैगरी, मोर्चाका कार्यकर्ताहरूले तीन दिन अघि नै जिल्ला समन्वय समिति सप्तरीको बोर्डलाई मेटेर नेपाल सरकारको स्थानमा मधेस प्रदेश सरकार लेखेर पुनः जिल्ला विकास समितिको कार्यालय नै लेख्न लगाएका थिए ।

यस्तै गरि जिविस र राजविराज नगरपालिकाको कार्यलयमा ३ दिन देखिनै मोर्चाका कार्यकर्ताले तालाबन्दी गरिएका छन् ।

त्यस्तै सप्तकोशी गाउँपालिकालाई भने नगरपालिकाबाट घटुवा गरिएको भन्दै कांग्रेस माओवादी लगायतका स्थानीय राजीनतिक दलले नै ३–४ दिन अघि देखि तालाबन्दी गरी आन्दोलन गरिरहेका छन् ।