September 25, 2017

मधेसी मोर्चाद्वारा व्यवस्थापिका–संसदको बैठक बहिष्कार

काठमाण्डौ, १ चैत्र । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले व्यवस्थापिका–संसदको मंगलबारको बैठक बहिष्कार गरेको छ ।

बैठक सुरु हुनासाथ मोर्चासँग आबद्ध राजनीतिक दलका सांसदले आ–आफ्नो स्थानबाट उठेर विरोध जनाएका थिए । त्यसलगत्तै सभामुख घर्तीले मोर्चाका तर्फबाट सद्भावना पार्टीका सांसद लक्ष्मणलाल कर्णलाई बोल्ने समय दिएकी थिइन् ।

सांसद कर्णले मन्त्रिमण्डलमा नयाँ–नयाँ मन्त्रीको प्रवेश भए पनि सरकार देश र जनताको हितप्रति गम्भीर नभएको आरोप लगाए । नेकपा एमालेबाट मधेसी समुदायको अपमानित गर्ने काम भएको भन्दै उनले आपत्ति जनाएका थिए ।

स्थानीय तहको पुनःसंरचना आयोगले मधेसीको प्रतिनिधित्व घटाउने काम गरेको आरोप लगाउँदै सांसद कर्णले आफ्नो सम्बोधन नगरिएसम्म आयोगको प्रतिवेदन र निर्वाचनलाई मधेस र मधेसी जनताले स्वीकार नगर्ने दाबी गरे ।

मोर्चाको तर्फबाट बैठक बहिष्कार गर्ने घोषणासँगै मोर्चा आबद्ध दलका सासंदहरुले बैठक बहिष्कार गरेका थिए ।