August 17, 2017

मधेशी मोर्चाको अवरोधपछि सप्तरी जिल्ला मालपोत कार्यालय ठप्प

दिनेश शर्मा
राजविराज, १८ चैत्र । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको अवरोधपछि बिहीबार जिल्ला मालपोत कार्यालय सप्तरी ठप्प भएको छ ।

सरकारले लागू गरेको स्थानीय निकायको नयाँ संरचना अनुसार काम नगर्न दबाब दिँदै मोर्चाले अवरोध गरेपछि कार्यालयको काम ठप्प भएको हो ।

सरकारको निर्देशनपछि कार्यालयको सम्पूर्ण गतिविधि नयाँ संरचना अनुसार भइरहेको जानकारी लगत्तै पुरानै संरचना कार्यान्वयन गर्न मोर्चाले दबाब दिँदै आएको थियो । नयाँ संरचना अनुसार ४ प्रतिशत कर उठाउन बन्द गरी पुरानै संरचना अुसार २ प्रतिशत मात्र राजश्व लिनु पर्ने मोर्चाको माग छ ।

यस्तै बिहीबारै सम्पन्न मोर्चाको बैठकले नयाँ संरचना अनुसार काम कारबाही गरे त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवारी सरकारले नै लिनुपर्ने भन्दै शुक्रबार बिहानै देखि कार्यालयको काममा अवरोध गरिएको छ । मालपोत कार्यालयका प्रमुख दधिराम गुरागाईसहित कुनै पनि कर्मचारी कार्यालयमा प्रवेश गर्न पाएका छैनन् ।

मोर्चाका कार्यकर्ताहरुले बिहानै देखि कार्यालको मूल गेटमै नाराबाजी गर्दै धर्ना बसेपछि कर्मचारीहरु कार्यालय प्रवेश गर्न नपाएका हुन् । लेखापढि व्यवसायीहरु समेत आन्दोलनमा उत्रिएपछि सेवाग्राहीहरु मर्कामा परेका छन् । कुनै घटना हुन नदिन कार्यालय हाताभित्र ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

मोर्चाका कार्यकर्ताले सप्तरीका १७ ओटै स्थानीय तहका कार्यालयमा पनि तालाबन्दी गर्दै आएका छन् । मोर्चाको ताला प्रहरीले खोलेको भन्दै बिहीवार जिल्ला समन्वय समिति र राजविराज नगरपालिकाका कार्यालयमा तोडफोड समेत गरिएको थियो ।