मधेशी मोर्चाको अनिश्चितकालिन सप्तरी बन्द फिर्ता

दिनेश शर्मा
राजविराज, २८ फाल्गुन । सप्तरीको मलेठमा गत सोमवार भएको गोलीकाण्डपछि मधेशी मोर्चा सप्तरीले तत्कालै घोषणा गरेको अनिश्चितकालिन सप्तरी बन्द फिर्ता भएको छ ।

मोर्चाका संयोजक दिनेश यादवले शनिवार प्रेस विज्ञप्ति जारी गरी सप्तरी बन्द फिर्ता भएको जानकारी दिएका छन् ।
उक्त घटनाका दोषीलाई कार्वाही र संविधान संशोधन गराउन भईरहेका प्रयास र अन्य आन्दोलनका कार्यक्रम भने जारी नै रहेको विज्ञप्तिमा जनाईएको छ ।

मोर्चाले यस वर्षको होली पर्व तडकभडकका साथ नमनाउन पनि मधेशका जनतासँग अपील गरेको छ ।
विज्ञप्तिमा एमाले अभियानको शान्तिपूर्वक विरोध प्रदर्शन गरिरहँदा प्रहरीले अन्धाधुन्ध गोली प्रहार गरी पाँच जनाको हत्या गरेको जनाउँदै बिना कारण निहत्था जनताको टाउको र छातीमै गोली प्रहार गर्दा समेत सरकारको गृहमन्त्रीले अवस्था काबुभन्दा बाहिर गएकाले गोली चलाउनुपरेको भनी संसदमा दिएको स्पष्टिकरणले मधेशी जनतालाई थप दुःखित बनाएको विज्ञप्तीमा उल्लेख छ ।