October 22, 2017

मतदाताको अन्तिम सूची प्रकाशित

काठमाण्डौ,२१ चैत्र । निर्वाचन आयोगले मतदाताको अन्तिम नामावली तयार पारेको छ । आयोगका अनुसार स्थानीय तहको निर्वाचनमा १ करोड ४० लाख ५४ हजार ४ सय ८२ जनाले भोट हाल्न पाउने भएका छन ।

सरकारले निर्वाचन घोषणा गर्नुभन्दा पहिले फागुन ९ अघि १८ बर्ष उमेर पुगेका र मतदाता नामावलीमा नाम समावेश भएका नागरिकहरुको आयोगले अन्तिम सूचि बनाएको हो ।

मुलुकभरिका मतदातामध्ये पुरुष ७० लाख ६९ हजार ७ सय १४ छन् भने ६९ लाख ८४ हजार ६ सय २५ महिला मतदाता रहेको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारि दिए । उनका अनुसार तेस्रो लिङ्गी १ सय ४३ रहेका छन ।

ती नामावलीलाई संघीय संरचना अनुसार परिमार्जन तथा त्रुटि सच्याएर आइतबार सार्वजनिक गरिएको हो । सम्पूर्ण जिल्लाबाट मतदाताको संख्या प्राप्त भएपछि आयोगले अन्तिम सूची निकालेको हो ।

मतदाताको अन्तिम सूचि प्रकाशन भएसँगै आयोगले सोमबारबाटै मतदाता परिचय पत्र प्रकाशनको कामसमेत थाल्ने जनाएको छ ।आयोग परिसरमा राखिएका मेसिनबाट आयोगले सुरक्षा कोडसहितको मतदाता परिचयपत्र प्रकाशन गर्दैछ । यो खबर आजको हिमालयन टाइम्स दैनिकमा छ ।