भैरहवा विमानस्थलमा विवाद, निर्माण कार्य ठप्प

नरेश के.सी. /भैरहवा, चैत्र ११ । राष्ट्रिय गौरवको परियोजना गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल भैरहवाको निर्माण कार्य विगत ८ दिनदेखी रोकिएको छ ।

एकाएक पछिल्लो एक हप्ता यता निर्माणको ठेक्का पाएको मुख्य ठेकेदार चिनीया कम्पनी नर्थवेस्ट सिभिल कन्सट्रक्सन ग्रुप लिमिटेड चाइना र सब कन्ट्रयाक्टर नर्थवेस्ट नेपाल ईन्फा प्रा.लिबीच लेनदेन विवादमा आएपछि काम रोकिएकाे हो ।

 २०१७ को जनु २ तारिख अर्थात २०७४ जेठ १९ गते भित्र निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेको चिनीया कम्पनि नर्थवेस्ट सिभिल कन्सट्रक्सन ग्रुप लिमिटेड चाइनाले आफुले प्राप्त गर्ने रकम मध्ये ८० प्रतिशत रकम नेपाली कम्पनिलाई दिनेगरी सब कन्ट्रयाक्टरको रुपमा नर्थवेस्ट नेपाल ईन्फा प्रा.लिलाई निर्माणको कामको सम्पुर्ण जिम्मा दिएको थियो ।

यी दुई कम्पनिबीचको आन्तरिक सम्झौता अनुसार नेपाली कम्पनिले काम गर्दै जाँदा अहिले सम्म जम्मा कामको २७ प्रतिशत काम सम्पन्न भएको जनाएको छ । विमानस्थलसँग सरोकारित दातृ संस्था एडिबी, कन्सलट्यान्टको जिम्मा पाएको युसीन कोरियन कन्सलट्यान्ट र परियोजना क्यानले संयुक्त रुपमा मूल्यांकन गर्दा समेत २७ प्रतिशत काम भएको जनाएको छ ।

चिनीया कम्पनिले क्यान र एडिबी बाट रकम बुझ्ने तर काम गर्ने सब कन्टयाक्टरलाई रकम नदिने गर्दा  विवाद चुलिएको हो ।

नेपाली कम्पनि नर्थवेस्ट नेपाल ईन्फा प्रा.लिले अहिले सम्म चिनीया कम्पनिसँग करिब ५५ करोड लिन बाँकी रहेको दाबी गरेको छ ।

यसै हप्ता क्यानबाट २ करोड र एडिबीबाट ६ करोड गरी कुल ८ करोड रकम बुझेको चिनीया कम्पनिले नेपाली कम्पनिलाई एक रुपैयाँ पनि नदिए पछि लेनदेनको विवाद सतहमा आएको हो ।

सब कन्ट्रयाक्टर नर्थवेस्ट नेपाल ईन्फा प्रा.लिका अध्यक्ष राजु गुरुङले  चाइनिज कम्पनिसँग आन्तरिक सम्झौता अनुसार काम गरिरहेकाे बताए । दातृ निकाय एडिबी र क्यानसँग रकम नपाउदा हामी आफै रकम जुटाएर निर्माणलाई निरन्तरता दिइरहेका छौ।

यसै हप्ता ८ करोड रकम बुझ्दा समेत चाइनिजले हामीलाई दिनुपर्ने रकम मध्ये एक रुपैया पनि दिन नखोज्दा अाफुहरुकाे गुनासो रहेकाे गुरुङले बताए ।

अध्यक्ष गुरुङले भने ‘मधेस आन्दोलन, राजनीतिक उतार चढाव र निर्माण सामग्रीको अभावको कारण अहिले १ सय ६७ दिन म्याद थपिएको बताए ।

चिनिया कम्पनिले २०१४ को लगत इस्टीमेटसँग अहिलेको मूल्य नमिल्ने हुँदा लागत बढाएर काम गर्नुपर्छ भनिरहेकाे छ । तर नेपाली ठेकेदार कम्पनीले मानेकाे छैन । उसले लागत र समय बढाएर पैसा कुम्लाएर भाग्ने सोचमा रहेकाे नेपाली ठेकेदार कम्पनिकाे अाराेप छ । नेपाली ठेकेदार कम्पनीले नो भेरियसन, नो ड्युरेशन भनेकाे छ। ६ सय २२ करोड भित्रै यो काम सम्भब छ, सोहि बजेटमा काम गर्नुपर्छ भन्दा चीनीया कम्पनिले विभिन्न विवाद निकालेको नेपाली पक्षकाे अाराेप छ ।

चाइनिज ठेकेदार कम्पनिले सन् २०१४ मा सम्झौता गरे अनुसारको रकममा हाल निर्माण सामग्री नपाइने भन्दै रकमको भेरियसन बढाई समय पनि थप गरेर काम गर्न चाहेको पनि बुझिएको छ । यदि त्यस्तो भएमा हाल सम्झौता भएको रकमको तीन गुणा थप लागत लाग्ने देखिन्छ । तर विमानस्थल आयोजना प्रमुख ओम शर्माले भने विवाद समाधानउन्मूख भएको बताएका छन् ।

शर्माले भने ‘यहाँको कामको ठेक्का चीनीया कम्पनीले लिएको हो । उसको फाइनान्सियल म्यानेजमेन्ट कमजोर छ । यसबारेमा हामीले बारम्बार चीन स्थित उसको हेडक्वाटरलाई समेत पत्र पठाएर सचेत गराएका छौँ पछिल्लो समय उसैले आफै सब कन्ट्रयाक्टर बनाएको नेपाली नर्थवेस्ट नेपाल ईन्फा प्रा.लिसँग लेनदेन विवाद नमिलेर केही समस्या आयो । केहि दिनदेखी काम बन्द छ । तर अब केहि दिनमै यो काम सूचारु हुन्छ । किनकी चाइनीज कम्पनिका उपाध्यक्ष र नेपाली कम्पनिबीच विवाद समाधान गर्नेगरी ४ बुँदे सहमति हाम्रो मन्त्रालयका सहसचिव डन्डु घिमिरे सहितको रोहबरमा भइसकेको छ ।

चिनीया कम्पनिले बिहीबारदेखी मिस्कट र बालुवाको रोयल्टी रकम तिर्न जिल्ला विकास समिती गएको बुझिएको छ । दुबैपक्षको सम्झौता अनुसार तत्काल लेनदेन हिसाब गर्नुपर्ने शर्त अनुसार ओभर ल्याप नहुने काम जारी राख्नेगरी तिनाउबाट निर्माण सामग्री लिन चीनीया कम्पनिले काम सुरु गरेको हो ।

शर्माले त्यसो भनिरहदा भने आयोजना स्थलमा एक हप्तादेखी काम नै रोकिदा नेपाली ठेकेदार कम्पनिमा काम गर्ने अढाइसय मजदूर हरु दिनभर घाम तापेर दिन कटाउन बाध्य देखिएका छन् ।