भैरहवामा डा. बाबुराम भट्टराईले  भने-  ‘एकल जातिय अहंकारका कारण देश विखण्डनको डर’

 

नरेश केसी/भैरहवा ११ चैत्र । नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले  नेपाली राजनीतिमा एकल जातिय अहंकार डरलाग्दो तरिकाले देखापरिरहेको बताएका छन ।

नयाँ शक्ति पार्टी, नेपालले सुरु गरेको हिमाल-पहाड-मधेस/तराई राष्ट्रिय अभियानको क्रममा शुक्रबार भैरहवामा आयोजित सभामा डा. भट्टराईले  एकथरी राजनीतिक दलहरु एकल जातिय अहंकार वादलाई प्रशय दिइरहेका छन भने अर्काले यसलाई रोक्ने कोशिस गरिरहेका छन भन्दै यी दुबै थरी शक्तिका कारण देश विखण्डित त हुने होइन खतरा देखापरेकोले चिन्ता व्यक्त गरे ।

उनले भने – ‘एकल जातीय अहंकारवादका विरुद्ध मधेशका केही निराशावादी युवाहरुबाट मधेशलाई छुट्टै देश बनाउनुपर्छ भन्ने आशयका अभिव्यक्तिले  बिखण्डनको खतरा देखापरिरहेको छ  । ‘यो निकै गम्भीर विषय हो, यो रोक्नुपर्छ र इन्द्रधनुषी राष्ट्रको निर्माण गर्नुपर्छ,।’

संघीयताले देश जोड्ने बताउँदै डा. भट्टराईले डेढ वर्षसम्म संघीताको कार्यान्वयन हुन नसक्नु दुःखद कुरा भएको बताए । देशमा चुनाव गरेर सरकारमा पुग्ने अनि राजनीतिक स्थायित्व कायम गर्दै देशलाई समृद्धितिर लैजाने नयाँ शक्ति पार्टीके सीधा राजनीतिक कार्यदिशा भएको पनि उनले बताए ।

नेपालको सन्दर्भमा समृद्धि कुनै काल्पनिक सपना नभएको उल्लेख गर्दै उनले हाम्रै जीवनकालमा समृद्धि सम्भव भएको स्पष्ट पारे  । डा. भट्टराईले  नयाँ शक्ति वैकल्पिक विचारसहितको शक्ति भएकोले यो देश विदेशमा रहने व्यक्तिहरुको माझ मात्र होइन, संसारले नै नयाँ शक्तिलाई चासोपूर्वक हेरिरहेको बताए ।

डा. भट्टराईले  विकास र समृद्धिको निम्ति सबैले एकैसाथ समृद्धिको सपना देख्नुपर्ने र सबैबीच दृढ संकल्प र एकता हुनुपर्ने आवश्यकता  ‌औल्याउदै नयाँ शक्तिले देशलाई तोड्न र टुक्र्याउन खोज्ने शक्तिहरुका विरुद्ध देश जोड्ने अभियानको रुपमा नयाँ शक्ति पार्टीले  अभियान संचालन गरेको बताए । नयाँ शक्तिको जारी हिमाल, पहाड, तराई–मधेश राष्ट्रिय एकता अभियान १३ गते धनगढीमा पुगेर समापन हुनेछ ।