August 23, 2017

भैरहवामा के के भने काँग्रेस नेताहरुले ?

नरेश के.सी./भैरहवा, २९ चैत्र । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मधेस र पहाडबीच झगडा गराउन नेकपा एमालेले षड्यन्त्र गरेको आरोप लगाएका छन।

भैरहवामा अायोजित अामसभालाई सम्बोधन गर्दै  देउवाले एमालेले राष्ट्रियताको खण्डित परिभाषा लिएर हिँड्दा राष्ट्रियता कमजोर हुने बताए ।

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनतामा आएको अधिकारलाई संस्थागत गर्ने मौका निर्वाचन भएको भन्दै निर्वाचनका बारेमा कुनै पनि द्विविधा नराख्न आग्रह गरे । उनले भने, ‘सिंहदरबारको अधिकार जनतामा आउन लागेकाले जनताको अधिकार कसैले रोक्नु हुँदैन ।’

सभालाई सम्बोधन गर्दै महामन्त्री डा.शशांंक कोईरालाले मुलुक निर्वाचनमय भइसकेको भन्दै अब कुनै पनि हालतमा निर्वाचन नरोकिने प्रस्टाए । यस्तै गृहमन्त्री विमलेन्द्र निधिले आगामी निर्वाचनमा काँग्रेसको पक्षमा बहुमत दिलाउन पार्टीका सबै एक भएर लाग्नु पर्ने बताए । उनले अब हुने तीनै तहको निर्वाचनमा काँग्रेस पहिलो शक्ति बन्ने दाबी पनि गरे ।

पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले संविधानमा भएका अन्तरवस्तु, पार्टीको धारणा तथा सबै नेपालीबीच एकता र सद्भावको सन्देश फैलाउने उद्देश्यले काँग्रेसले अभियान चलाएको जनाउँदै स्थानीय निर्वाचनमा काँग्रेस पहिलो बन्ने बताए ।

सभा अघि भैरहवाका विभिन्न क्षेत्रबाट काँग्रेसका कार्यकर्ताहरु र्‍यालीसहित सभास्थल पुगेका थिए । सभामा सहभागी हुन रुपन्देहीका विभिन्न ठाउँबाट, पाल्पा, अर्घाखाँची, गुल्मी, कपिलवस्तु, नवलपरासी लगायतका जिल्लाबाट काँग्रेस कार्यकर्ताहरु भैरहवा आएका थिए ।​