भेनेजुएलामा सरकार विरोधी प्रदर्शन

काठमाण्डौ ,२७ चैत्र । भेनेजुएलाका महत्वपूर्ण विपक्षी नेता एनरिके क्याप्रिलेसलाई राजनीतिबाट १५ वर्षका लागि प्रतिबन्ध लगाइएपछि भेनेजुएलामा सरकार विरोधी प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ ।

राजधानी काराकासमा सुरक्षा निकायले प्रदर्शनकारीलाई अघि बढ्न रोकेपछि हिंसात्मक झडप भएको थियो । प्रदर्शनकारीहरुले प्रहरीलाई ताकेर ढुँगा र पेट्रोल बम प्रहार गरेका थिए भने त्यसको जवाफमा प्रहरीले अश्रु ग्याँस हानेको थियो ।

शनिबारको प्रदर्शनले सर्वोच्च अदालतले संसदको अधिकार कटौती गर्ने प्रयास गरेपछि एक हप्ताअघि देखि भेनेजुएलामा कायम अनिश्चितातालाई थप गहिरो बनाएको छ ।

यो भेनेजुएलामा एक हप्तामा चौथो पटक भएको ठूलो प्रदर्शन थियो।एनरिके क्याप्रिलेसलाई राजनीतिबाट प्रतिबन्ध लगाउने निर्णय गरिएपछि विपक्षीहरु सडकमा  उत्रेका छन् ।

विपक्षी नेता क्याप्रिलेसले आफुमाथि अश्रु ग्याँस हानिएको कारण आफ्नो पार्टी मुख्यालयमा आगो लागेको बताए ।