भूकम्प पीडितलाई छिटो राहत वितरण गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाण्डौ, १५ फाल्गुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भूकम्पबाट सबैभन्दा बढी पीडित भएकालाई राहत पुग्ने गरी द्रुत गतिमा कार्य अघि बढाउन पुनर्निर्माण प्राधिकरणलाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्री कार्यालय सिंहदरवारमा प्राधिकरणसहित सरोकारवाला मन्त्रालयको संयुक्त बैठकमा प्रधानमन्त्रीले उक्त निर्देशन दिएका हुन् । भूकम्पबाट क्षति भई जोखिमयुक्त बस्तीमा बसिरहेका परिवारलाई तत्काल अन्यत्र बसोवासको व्यवस्था मिलाउन, घर निर्माण गर्ने पीडितलाई सहुलियतपूर्ण ऋण उपलब्ध गराउन प्रधानमन्त्री दाहालले निर्देशन दिएका हुन् ।

त्यस्तै, उनले भूकम्प पीडित सुकुम्वासीहरुलाई राहतको व्यवस्था गर्ने गरी कार्यविधि ल्याउन समेत निर्देशन दिए । बैठकपछि पुनर्निर्माण प्राधिकरणका कार्यकारी निर्देशक डाक्टर गोविन्द पोखरलले भूकम्पपीडितलाई प्रत्यक्ष राहत हुने कार्यक्रम तर्जुमा गर्ने प्रस्ताव राखेको जानकारी दिएका छन् ।

बैठकमा शहरी बिकास मन्त्री अर्जुन नरसिंह केसी, स्थानीय विकास मन्त्री हितराज पाण्डे, शिक्षा मन्त्री धनीराम पौडेल, मुख्य सचिव सोमलाल सुवेदी सहित सरोकारवाला मन्त्रालयका सचिवको सहभागिता रहेको थियो ।