भूकम्प पिडितलाई तत्काल काठ उपलब्ध गराउन प्राधिकरणकाे निर्देशन

काठमाण्डौ, १० चैत्र । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिइओ) डा. गोविन्दराज पोखरेलले भूकम्प प्रभावित जिल्लामा घर निर्माणका लागि सहुलियत दरमा काठ उपलब्ध गराउन वन मन्त्रालय सहित सरोकारवाला निकायलाई निर्देशन दिएका छन् ।

भूकम्प प्रभावित जिल्लामा काठको अभावमा सर्वसाधरणले घर बनाउन नसकेको गुनासो आइरहेको बेला प्राधिकरणका सिइओ पोखरेलले बिहीबार यस्तो बताएका हुन् ।

उनले वन सचिव प्रकाश माथेमा, वन विभागका महानिर्देशक कृष्णप्रसाद आचार्य र टिम्बर कर्पाेरेशन अफ नेपालका महाप्रबन्धक राजु लौडारीलाई बोलाएर सिइओ यस्तो निर्देशन दिएका हुन् ।

बैठकमा पोखरेलले भूकम्प पिडितहरुका लागि सहुलियतमा दिने भनिएको काठ वितरणको प्रक्रिया सहज बनाएर अति प्रभावित १४ जिल्ला सदरमुकामसम्म ढुवानी गर्ने व्यवस्था मिलाउन आग्रह गरेका हुन् ।

सो क्रममा सहभागि अधिकारीहरुले आवश्यक गृहकार्य गरी जतिसक्दो छिटो भूकम्प प्रभावित जिल्लामा सहुलियत दरमा काठ उपलब्ध गराउन पहल गरिने बताएका थिए ।

सिइओ पोखरेलले जिल्लामा टिसिएन समितिलाई आफ्नो शाखा विस्तार गरेर भएपनि प्रभावकारी रुपमा सहुलियत दरको काठ वितरण गर्न निर्देशन दिएका हुन् ।

पोखरेलले भने, ‘ तपाईहरुले न्युन लागतमा प्रभावित जिल्लाको सदरमुकामसम्म सहुलियत दरमा काठ पुर्‍याउने व्यवस्था गर्नुहोस, कार्यविधि संशोधन गरेर हुन्छ वा क्याविनेटसम्म कुनै प्रस्ताव लग्नुपर्छ त्यसमा हामी सहयोग गर्छाै तर तपाईहरुले घर बनाउन आवश्यक पर्ने काठको सहज वितरण गर्नुपर्‍यो ।’

उनले जिल्ला वन पैदावार समिति, टिसिएन र निजी क्षेत्रलाई सहभागि गराएर काठ वितरणलाई प्रभावकारी बनाउन सकिने सुझाव दिएका थिए ।