September 25, 2017

भारतीय सुरक्षाकर्मीले हत्या गरेका गोविन्द गौतमलाई सहिद घोषणा

काठमाण्डौ, २७ फाल्गुन । कञ्चनपुरमा बिहीबार भारतीय सुरक्षाकर्मी एसएसबीले हत्या गरेका नेपाली नागरिक गोविन्द गौतमलाई नेपाल सरकारले सहिद घोषणा गरेको छ ।

घटनाबारे संसदलाई जानकारी गराउदै उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले शुक्रबार संसदमा गोविन्द गौतमलाई सरकारले सहिद घोषणा गरेकाे संसदलार्ई जानकारी गराएका छन् ।

स्वर्गीय गौतमको अन्त्येष्टि सम्मानपूर्वक गरिने, राहतस्वरुप १० लाख परिवारलाई प्रदान गरिने र सन्तानलाई पठनपाठनको निःशुल्क व्यवस्था सरकारले मिलाउने जानकारी गृहमन्त्री निधिल संसदमा गराएका छन् । उनले दूतावासका प्रतिनिधि बोलाएर अनुसन्धान गरी दोषीलाई कारबाही गर्न परराष्ट्र मन्त्रालयबाट कुटनीतिक कुराकानी भइसकेको र बिहानैदेखि परराष्ट्र मन्त्री आफै पहल गरिरहेको जानकारी पनि दिए ।

उनले अनावश्यक उत्तेजना फैलाएर बोर्डरमै गएर तनाव नगर्न पनि आग्रह गरेका छन् । देशभक्तिपूर्ण राष्ट्रिय भावनाको सरकार उच्च कदर गर्ने भन्दै उनले तनाव बढाउने कुरा बोर्डर भन्दा अन्यत्र नै राख्नु ठीक हुने तर्क गरेका छन् ।