October 18, 2017

भारतीय लगानीकर्ताहरुलाई नेपालमा लगानी गर्न पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईको आग्रह

नयाँ दिल्ली, ४ चैत्र । साताव्यापी भारत भ्रमणमा रहेका पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले भारतका उद्योगी व्यवसायीलाई नेपालमा लगानी गर्न आग्रह गरेका छन् ।

दिल्लीमा भारतीय उद्योगी व्यवसायीहरुसँग अन्तरक्रिया गर्दै डा. भट्टराईले भने, ‘यदि तपाईंहरुलाई कुनै स्पष्टीकरण जरुरी छ भने – हामी त्यो प्रस्ट पार्न चाहन्छौं, अब निजी क्षेत्रको सहभागिताबाट नै विकास र समृद्धि हासिल गर्न सकिन्छ । त्यसैले म तपाईंहरुलाई नेपालमा लगानी गर्न आग्रह गर्दछु ।’

नेपालको विकास र समृद्धि नै आफ्नो लक्ष्य भएकोले त्यही प्राप्त गर्नका लागि आफू राजनीतिमा होमिएको उनले बताए ।

संविधान जारी भएसँगै देशमा राजनीतिक परिवर्तनको युग अन्त्य भएकोले अब तीव्र आर्थिक विकासको चरणमा मुलुक प्रवेश गरेको छ । विकास र समृद्धिको लक्ष्य हासिल गर्नका लागि नै वैकल्पिक राजनीतिक शक्तिको रुपमा नयाँ शक्ति पार्टी स्थापना भएको उनले बताए ।

उनले नेपाल–भारतबीचको सम्बन्ध अन्योन्याश्रित भएकोले नेपालको विकासका लागि भारतको लगानी अपरिहार्य रहेको बताए ।

विगतमा राजनीतिक अस्थिरता र लामो संक्रमणका कारण नेपालमा लगानीका लागि केही समस्या रहेको बताउँदै उनले त्यो समस्या करिब–करिब अन्त्य भएको बताए । उनले विश्वास दिलाउँदै भने, ‘मधेश आन्दोलनको समाधानसँगै राजनीतिक अव्यवस्थाको अन्त्य हुनेछ र लगानीका लागि उपयुक्त वातावरणको सिर्जना हुनेछ ।’

उनले भने, ‘म शक्तिमा रहुँ वा नरहुँ मेरो सपना भनेको विकास र समृद्धि नै हो । भारतको लागि पनि नेपाल एउटा राम्रो बजार भएकोले नेपालको आर्थिक विकास हुँदा नै भारतलाई फाइदा हुन्छ ।’

अन्तरक्रियामा नयाँ शक्ति पार्टीका नेताहरु डा. प्रवीण मिश्र, हिसिला यमी, नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष तथा डा. बाबुराम भट्टराईका सल्लाहकार सुरज वैद्य, भाष्करराज राजकर्णिकार लगायतको उपस्थिति रहेको थियो ।