October 23, 2017

भारतीय पत्रिका ‘अमर उजाला’ जलाइयो, नेपालमा भारतीय पत्रिका रोक

सुशील ढुंगाना

कैलाली, २७ फाल्गुन । शुक्रबार धनगढीमा भारतीय पत्रिका ‘अमर उजाला’ जलाइएको छ ।

बिहीबार कञ्चनपुरको पुनर्वास नगरपालिका ८ आनन्द बजारका गोविन्द गौतमलाई भारतीय सुरक्षाकर्मीले गोली हानी हत्या गरेको विषयमा गतल समाचार लेखेको भन्दै भारतीय अमर उजाला पत्रिका धनगढीमा जलाइएको हो ।

गौतमको हत्याको विरोधमा शुक्रबार धनगढीमा प्रदर्शनमा उत्रेको नेकपा एमाले निकट युवा संघले उक्त पत्रिका जलाएको हो । उक्त पत्रिकामा भारतीय सुरक्षा कर्मीले गोली चलाएको भन्ने नेपाली सञ्चारमाध्याममा आएको समाचार गतल रहेको लेखिएको थियो ।

यसको साथै बिहीबार कञ्चनपुरको आनन्द बजारमा भारतीय सुरक्षाकर्मीले गोली नचलाएको र नेपाली सुरक्षाकर्मीले चलाएको गोली लागेर नेपाली युवक गौतमको मृत्यु भएको लेखिएको थियो ।

एकतर्फी भारतको पक्षपोषण गर्दै नेपाल र नेपाली माथि यस अघिदेखि नै हेपाहा दृष्टिकोणले समाचार प्रकाशन गर्दै आएको युवा संघका केन्द्रीय सदस्य मदन रेग्मीले बताए ।

बिहीबार धनगढी तथा महेन्द्रनगर बजारमा उक्त पत्रिका बहिस्कार गर्ने र नेपाल ल्याउन रोक लगाउने उनले बताए ।

नेपाली बजारमा भारतीय पत्रिका अमर उजाला नराख्न सबै व्यापारीहरुलाई आग्रह गरीको र यदी कसैले राखेको पाइएमा जरीवान गर्ने चेतावनी समेत दिइएको छ ।