October 23, 2017

भारतले महाकाली नदीमा पुल र सडक योजनाको निर्माणका लागि ऋण सहयोग गर्ने

 

काठमाण्डौ ८ फाल्गुन । भारतले महाकाली नदीमा पुल र १५ वटा सडक योजनाको निर्माणकालागि ऋण सहयोग गर्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखक र भारतीय रेलमन्त्री सुरेश प्रभाकर प्रभुबीच आइतबार विहान भएको भेटपछि दुवै मन्त्रीको उपस्थितिमा ऋण सहयोग स्वीकृतिको अन्तिम सहमति पत्रमा हस्तान्तरण समेत भएको छ ।
दुई देशबिच करिव ३६ अर्व ४७ करोड रुपैयाँको ऋण स्वीकृतिको अन्तिम सहमति पत्र हस्तान्तरण भएको हो । सहमति अनुसार महाकाली नदिमा चार लेनको पुल र ८०० किमि सडक निर्माण हुने छ ।भेटमा नेपालका विभिन्न आयोजनाहरुको प्रभावकारी कार्यान्वयन, हुलाकी सडकमा भारतीय सहयोगको प्रतिवद्धता साथै नेपालमा रेल सेवाको विकास, विस्तार एवं निर्माणाधीन आयोजनाहरु प्रभावकारी रुपमा अगाडि बढाउने आदि विषयमा छलफल भएको थियो ।

छलफलका क्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले दुई देशका बीचमा आपसी सम्बन्ध, सद्भाव र पारस्परिक सहयोग कायम गर्दै नेपालको पूर्वाधार विकासमा भारतीय सरकारको तर्फबाट सहयोगको निरन्तरताको अपेक्षा र विश्वास व्यक्त गर्नुभयो । त्यस्तै भारतीय रेलमन्त्री प्रभाकरले नेपाल भारत असल छिमेकीबीच असल सम्बन्ध कायम गर्ने र सहयोग आदान प्रदान गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री सीताराम महतो, भारतीय राजदूत रणजित रे र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव धनबहादुर तामाङ लगायत भारतीय प्रतिनिधि मण्डलका सदस्यको सहभागिता रहेको थियो।