August 21, 2017

भारतबाट ६ नेपाली बालकको उद्धार

काठमाण्डौ, १० चैत्र । भारतको सिलिगुढी र दार्जीलिङमा अलपत्र अवस्थामा रहेका ६ नेपाली बालकको उद्धार गरी नेपाल ल्याइएको छ ।
महिला तथा बालबालिका कार्यालयको सहयोगमा ती बालकलाई बुधबार राति भारतबाट नेपाल ल्याइएको हो ।

इलाम साङरुम्बाका रोशन विक, जनकपुरका सागर अन्सारी, झापा पृथ्वीनगरका मिलन सार्की, भद्रपुरका विवेक साह, इलाम जीतपुरका रोशन विक तथा ठेगाना बताउन नसक्ने सुदिप राई र भुवन मगरको उद्धार गरिएको महिला तथा बालबालिका कार्यालयका प्रमुख इन्दिरा ओझाले बताएकी छन् ।

उद्धार गरिएकाहरु ११ वर्षदेखि १५ वर्षसम्म उमेरसम्मका रहेका छन् । भारतको सिलिगुढी र न्यू जलपाइगुढीलगायतका ठाउँमा अलपत्र अवस्थामा रहेका उनीहरुलाई भारतीय प्रहरीले सिलिगुढीस्थित बालगृहमा राखेको थियो ।

अहिले उनीहरुलाई काँकडभिट्टास्थित माइती नेपालको पुनःस्थापना गृहमा राखिएको छ । ‘ठेगाना पत्ता लागेकालाई सम्बन्धितको घरमा पुर्याइदिने र पत्ता लाग्न नसकेकालाई बाल गृहमा नै राख्छौँ,’ ओझाले बताईन् ।