भारतको उत्तर प्रदेशमा भाजपालाई भारी बहूमत

काठमाण्डौ २९ फाल्गुन । भारतीय प्रान्त उत्तर प्रदेशमा सत्तारुढ भारतीय जनता पार्टीले ठूलो विजय हासिल गरेको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदी आवद्ध पार्टी भाजपाले चार सय तीन मध्ये ३ सय २५ मा जित हासिल गरेको छ । भाजपाले कुनै पनि राज्यमा पाएको यो सबैभन्दा ठूलो सफलता हो ।

समाजवादी पार्टी र कंग्रेस गठबन्धनले ५४ सिट जितेको छ । यसैगरी, बहुजन समाज पार्टीले १९ सिट जितेको छ । मुख्यमन्त्रीको लागि कुनै नेतालाई घोषणा नगरी भाजपाले उत्तर प्रदेशमा प्रधानमन्त्री नरेन्द्र मोदीको नाममा प्रचार गरेको थियो ।

त्यस्तै उत्तराखण्डमा समेत भाजपाले ५७ सिटमा जित हासिल गरेको छ । ७० सिटका लागि भएको निर्वाचनमा भाजपाले ५७ र कांग्रेसले ११ सिटमा जित हासिल गरे । उता पंजाब राज्यमा कांग्रेसले बहुमत प्राप्त गरेको छ ।

१ सय १७ सिटका लागि भएको निर्वाचनमा कांग्रेसले ७७, आम आद्मी पार्टीले २० र एसएडी गठबन्धनले १८ सिटमा सफलता पाए । उता गोवा र मणिपुरमा भएका विधानसभा निर्वाचनमा समेत कांग्रेसले सफलता प्राप्त गरेको छ ।

४० सिटका लागि भएको गोवा विधानसभा निर्वाचनमा कांग्रेसले १७, भाजपाले १३ र अन्यले १० सिट जिते भने ६० सिटका लागि भएको मणिपुर विधानसभामा कांग्रेसले २८, भाजपाले २१ र अन्य ७ सिट जिते ।