August 19, 2017

भाजपा महासचिवले भने – ‘मोदीले नेपालको विकासमा विशेष चासो दिएका छन’

नयाँ दिल्ली, २ चैत्र । भारतीय जनता पार्टीका महासचिव राम माधवले भारतले नेपालमा सँधै शान्ति, स्थायित्व र विकास चाहेको बताएका छन् ।

नयाँ दिल्लीमा रहेका पत्रकार ऋषि धमलासँगको कुराकानीमा भाजपा महासचिव माधवले भने, ‘नेपाल–भारत सम्बन्ध अत्यन्तै समुधर र प्रगाढ छ, पछिल्लो समय द्विपक्षीय सम्बन्ध त झनै राम्रो भएको छ ।’

उनले नेपालमा पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बनेसँगै नेपाल–भारत द्विपक्षीय सम्बन्ध अझै सुमधुर बनेको बताएका छन् ।

त्यस्तै उनले नेपालको आन्तरिक मामिलामा भारतको कुनै किसिमको चासो नरहेको समेत बताए । उनले भने, ‘नेपालको आन्तरिक मामिलामा हाम्रो कुनै चासो छैन, हामी त केवल द्विपक्षीय सम्बन्ध सुमधुर बनोस् भन्ने चाहन्छौं, आगामी दिनमा सम्बन्ध झनै प्रगाढ होस् भन्ने चाहन्छौं ।’

उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि नेपालको विकासमा विशेष चासो दिएको जनाए । उनले थपे, ‘हाम्रो प्रधानमन्त्री मोदीजी नेपालको विकासप्रति चिन्तित हुनुहुन्छ, उनले नेपाललाई विशेष प्राथमिकता दिएका छन् यसपटक नेपाललाई बजेट पनि बढाईएको छ ।’

त्यस्तै मोदीले नेपालमा राजनीतिक स्थायित्व र विकास होस् भनेर चाहेको समेत बताए । उनले अघि थपे, ‘नेपालमा हुन गैरहेको चुनावमा हाम्रो कुनै विरोध छैन, र संविधान संशोधनपनि नेपालको आन्तरिक मामिला हो ।’

पछिल्ला समय नेपाल–भारतबीच द्विपक्षीय उच्चस्तरीय भ्रमणहरु समेत भैरहेकोले दुई देशवीचको सम्बन्धलाई कसैले चाहेरपनि बिगार्न नसक्ने ठोकुवा गरे ।