भाईराजा स्मृति क्रिकेट प्रतियोगिताको फाईनलमा रोयल स्पोर्टस क्लब

नेपालगंज २५ फाल्गुन । रोयल स्पोर्टस क्लब नेपालगन्जमा जारी स्वः रणेन्द्र बहादुर हमाल भाईराजा स्मृति क्रिकेट प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ ।
आज सम्पन्न सेमिफाइनल खेलमा जगुवार स्पोर्ट्स क्लबलाई ४० रनले पराजित गर्दै रोयल स्पोर्टस क्लब फाईनलमा प्रवेश गरेको हो ।
टस जितेर पहिलो ब्याटिङ्ग रोजेको रोयलले १९.५ ओभरमा १० विकेट गुमाउँदै १ सय ६१ रन बनाएको थियो । जसमा म्यान अफ द म्याच घोषित अमित श्रेष्ठको ६६ रन र कृष्ण कार्कीको २२ रनको योगदान रहेको थियो ।
जगुवारका रोशन शाहले ३ विकेट तथा मुजिब अन्सारीले २ लिए । जवाफमा १ सय ६२ रनको लक्ष्य लिएर मैदान उत्रिएको जगुवार क्लबले १६.३ ओभरमा सबै विकेट गुमाएर १ सय २१ रन मात्र बनायो ।
जसमा नविन ओलीको ३६ रन तथा मनोज यादवको २२ रनको योगदान रहेको थियो । रोयलका कृष्ण कार्कीले ३ विकेट, सुनील सुनारले ३ विकेट र सोनु तामाङले २ विकेट लिए । भोली नेपाल टाईगर र युनाईटेड भिजन बीच हुने सेमिफाईनल खेलको विजेतासंग शनिवार रोयल स्पोर्टस क्लबले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छ ।