November 18, 2017

भाईराजा कप स्मृति क्रिकेट प्रतियोगिता नेपालगन्जमा सुरु

नेपालगञ्ज २१ फाल्गुन । स्वः रणेन्द्र बहादुर हमाल भाइराजा स्मृति क्रिकेट प्रतियोगिता शनिबारदेखि नेपालगन्जमा सुरु भएको छ ।
उदघाटन खेलमा युनाईटेड भिजन कोहलपुरले घरवारी टोल युवा क्लबलाई ५ रनले पराजित गर्न सफल भयो ।
टस जितेर पहिलो ब्याटिङ रोजेको युनाईटेडले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ८६ रन बनाएको थियो ।
प्रतिउत्तरमा १ सय ८७ रनको विजय लक्ष्य लिएर मैदानमा उत्रिएको घरवारी टोलले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ८१ रन बनाएपछि ५ रनको झिनो अन्तरले खेल गुमाउन पुग्यो ।
सांसद मैकुलाल बाल्मिकीको संसदिय विकास कोषबाट संचालित भाइराजा क्रिकेट प्रतियोगिता २०७३ मा ८ वटा क्लबको सहभागीता रहेको छ ।
विगत २०४९ सालदेखि संचालनमा रहेको भाइराजा स्मृति क्रिकेट प्रतियोगिता विशेष कारणवस निरन्तर संचालन हुन नसकेपनि अवदेखि निरन्तर संचालन हुने प्रचार प्रसार संयोजक जावेद अहमदले जानकारी दिए ।
नेपालगन्जको मंगलप्रसाद उच्चमाविमा सुरु हुने क्रिकेट प्रतियोगितामा कुल ३ लाख ५८ हजार २ सय खर्च हुने बताइएको छ । नकआउट प्रणालीमा संचालन हुने प्रतियोगिताको विजेता टिमलाई ५१ हजार तथा उपविजेतालाई २५ हजार पुरस्कार प्रदान गरिने प्रतियोगिता संचालन समितिका संयोजक सुनील सिंह हमालले जानकारी दिए ।