August 21, 2017

भरतमोहन अधिकारीलाई थप उपचारको लागि बैंकक लगियो

काठमाण्डौ, २ चैत्र । नेकपा एमालेका नेता भरतमोहन अधिकारी स्वास्थ्य उपचारका लागि बुधबार बैंकक गएका छन् ।

आन्द्रामा समस्या देखिएपछि उपचारका लागि बैंकक लगिएको अधिकारीका स्वकीय सचिव महेश बिष्टले जानकारी गराएका छन् ।

चिकित्सकको सल्लाहअनुसार पूर्व उपप्रधानमन्त्री अधिकारी बुधबार बिहान ११:३० बजे थाई एयरवेजमार्फत बैंकक गएका हुन् ।

पूर्व अर्थमन्त्रीसमेत रहेका अधिकारीको बैंककस्थित भेजथानी अस्पतालमा उपचार गरिने बिष्टले बताए । अधिकारीलाई आन्द्रामा समस्या भएर दिसा र पिसाब रोकिएपछि गत पुस महिनामा बल्खुस्थित बयोधा अस्पतालमा उपचार गरिएको थियो । तर फेरि पनि समस्या देखिन थालेपछि उपचारका लागि उनलाई बैंकक लगिएको हो ।
अधिकारीका साथमा धर्मपत्नी ओमकुमारी अधिकारी, छोरी नीमा अधिकारी र छोरीज्वाइँ सुदीप आचार्य गएका छन् ।

बैंककमा अधिकारीको आन्द्राको उपचार गर्नाका साथै हर्नियाको शल्यक्रिया गरिने स्वकीय सचिव बिष्टले जानकारी गराए ।