October 22, 2017

भन्सार सहजीकरण गरिदिन प्रचण्डको आग्रह

काठमाण्डौ, १३ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अति कम विकसित मुलुकमा भन्सार सहजीकरण गरिदिन विकसित राष्ट्रहरूसमक्ष आग्रह गरेका छन् ।

चीनको हाइनानमा बोआओ फोरम फर एसिया सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गदै प्रधानमन्त्री प्रचण्डले अतिकम विकसित तथा भूपरिवेष्ठित मुलुकका समस्याबारे विकसित राष्ट्रहरूको ध्यानाकर्षण गराएका छन् । उनले नेपालजस्ता भूपरिवेष्ठित मुलुकलाई लचिलो व्यापार प्रक्रिया, क्षमतायुक्त व्यापारको वातावरण, सहज पारवहन, लगायतमा सहुलियत दिनुपर्ने बताए ।

प्रधानमन्त्री प्रचण्डले एसिया विश्व अर्थतन्त्रकै शक्ति केन्द्रको रूपमा विकास भइरहेकाले विश्वव्यापीकरणलाई एसियाली मोडल बनाएर अघि बढ्नुपर्नेमा जोड दिए । उनले आज बेइजिङ फरेन स्टडिज युनिभर्सिटीले आयोजना गर्ने ‘नेपाल–चीन सम्बन्ध समृद्धिका अवसर विषयक छलफल कार्यक्रमलाई सम्बोधन गर्ने रहेको छ । आजै चिनियाँ व्यापारी समुदायसँग छलफल गर्नुका साथै विश्वविद्यालयको परिसरमा स्थापना हुने नेपाल अध्ययन केन्द्रको उद्घाटन गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री प्रचण्डले भोलि चिनियाँ राष्ट्रपति सि जिनपिङसँग भेटवार्ता गर्नुहुनेछ । उनी यही चैत १६ गते स्वदेश फर्किने छन् ।