October 17, 2017

भक्तपुर गुठी संस्थानका सूचना अधिकृत ५० हजार घुस सहित पक्राउ

काठमाण्डौ, १३ चैत । भक्तपुर गुठी संस्थानका सहायक प्रशासक एवं सूचना अधिकारी छत्र बहादुर पौडेल ५० हजार नगद घुस सहित अख्तियारको नियन्त्रणमा परेका छन् ।

साबिक बागेश्वरी गा. बि. स. ४ हाल चाँगु नगरपालिका ७ मा उमानाथ तिमील्सेनाको नाममा रहेको ३ रोपनी गुठीको जग्गा छोराहरुको नाममा जोत नामसारी गर्ने क्रममा पौडेलले ५० हजार घुस लिँदा लिँदै कार्यालयमै अख्तियारको फन्दामा परेका हुन् ।

एक हप्ता अघि अख्तियारमा उजुरी परेपछि उनलाई अख्तियारका कर्मचारीले निगरानीमा राखेको र आज बिहानै देखि उनी माथि निगरानी बढाए पछि झन्डै दिउँसो २ बजे पौडेलले नगद पचास हजार लिँदै गर्दा अख्तियारको फन्दामा परेका हुन् ।

३०६ नं कित्ता रहेको उक्त जग्गा जोत नाम सारी गर्न पैसा नलाग्ने भएता पनि पहिला पाँच हजार दिँदा समेत पौडेलले आफू पाँच हजार खाने मान्छे नभएको भन्दै सेवा ग्राहीलाई थर्काए पश्चात् उनीहरु अख्तियारमा पुगेको र पचास हजारमा माने पछि उनलाई अख्तियारले उपलब्ध गराएको पैंसा सहित नियन्त्रण लिएको हो ।

आफ्नो कार्यकक्षमा पौडेलले पचास हजार घुस लिएता पनि उक्त रकम कार्यालय प्रमुखको दराज माथि रहेको कागजले छोपी रहेको अवस्थामा भेटिएका थिए ।

पौडेलले उक्त रकममा आफूले नलिएको दाबी गरे पश्चात् उनलाई रेड हेण्ड टेष्ट गरी उनैले लिएको अख्तियारले प्रमाण सहित उनलाई नियन्त्रणमा लिएको हो ।