भक्तपुरमा आज जिब्राे छेडेर सिन्दुर जात्रा मनाइँदै

काठमाण्डौ, २ वैशाख । भक्तपुरस्थित मध्यपुर थिमीको बोडेमा आज सिन्दुर जात्रा मनाइँदैछ । बिहान सिन्दुर जात्रा र दिउँसो जिब्रो छेड्ने चलन छ ।

श्रेष्ठ समुदायका व्यक्तिले जिब्रो छेड्ने प्रचलन अनुसार यो पटक थिमी बोडेका ४५ बर्षिय बुद्धकृष्ण बाग श्रेष्ठले जिब्रो छेड्दै छन् । मध्यपुर ठिमी–२ गणेश मन्दिर अगाडि रहेको पाटीमा देवगणको पूजा एवम् प्रार्थना गरी हजारौं भक्तजनमाझ नकर्मी नाइकेले तेलमा डुबाई राखेको १० ईन्च लामो फलामको सुइरोले जिब्रो छेडिदिने चलन छ ।

जिब्रो छेड्ने व्यक्तिले चन्द्राकारको महादीप बोकेर बोडेका विभिन्न शक्तिपीठमा परिक्रमा गरेपछि मात्रै छेडिएको सुइरो निकालेर महालक्ष्मी मन्दिरको दायाँबायाँ ठोकिन्छ । चैत मसान्तका दिन महालक्ष्मीको मन्दिरमा लिङ्गो ठड्याएर धुनी जगाएपछि जिब्रो छेडेर विधि पूरा नगरुन्जेलसम्म निराहर बस्नुपर्ने र कसैलाई छुन नहुने परम्परा छ ।

यसअघि विगत आठ वर्षदेखि जिब्रो छेड्दै आएका ३८ वर्षका जुजुभाई बास श्रेष्ठले पारिवारिक समस्याका कारण यसवर्ष जिब्रो नछेड्ने घोषणा गरेपछि बुद्धकृष्णले जिब्रो छेड्ने घोषणा गरेका हुन् ।