August 23, 2017

भक्तपुरको बिस्केट जात्रा आजबाट सकिँदै

भक्तपुर, ५ वैशाख । आठ रात नौ दिनसम्म मनाइने भक्तपुरको बिस्केट जात्रा आजबाट सकिँदै छ ।

बिस्केट जात्राको अन्तिम दिन आज गः हिटीबाट भैरव र भद्रकालीको रथ स्थानीय बासिन्दाले तानातान गरिसकेपछि तौमढीस्थित भैरव मन्दिर अगाडि ल्याएपछि यो वर्षको बिस्केट जात्रा सकिन्छ ।

रथमा रहेको बेताल र भैरबको मूल देवता झिकेर भैरब मन्दिरमा भित्राएपछि जात्रा समापन हुने प्रचलन छ । आजको दिनलाई ‘द्यो थाँहा बिज्याइगु’ अर्थात देवता माथि सवार हुने भनिन्छ ।

यसैगरी, प्रत्येक वर्ष चैत मसान्तका दिन पोटरी स्क्वायरस्थित कुमालेटोलमा स्थानीयवासीले उठाएको हात नभएको लिङ्गो आज बिहान विधिपूर्वक पूजा गरेर ढाल्ने प्रचलन रहेको छ ।

बिस्केट जात्राको लिङ्गोजात्रा हेर्नाले सुख–समृद्धि बढ्ने, सहकाल आउने र शत्रु नाश हुने जनविश्वास रहँदै आएको छ ।