भक्तपुरको बागमती आयल सप्लायर्समा सिलबन्दी

काठमाण्डौ, १७ चैत्र । आपूर्ति मन्त्रालयबाट अनुगमनमा निस्किएको संयुक्त अनुगमन टोलीले भक्तपुरको बागमती आयल सप्लायर्समा सिलबन्दी गरेको छ ।

उपभोक्ताले तिरेको पैसाभन्दा कम पेट्रोल र डिजेल दिने गरेको पाइएपछि अनुगमन टोलीले बागमती आयल सप्लायर्समा बिहीबार दिउँसो सिलबन्दी गरेको हो ।

मन्त्रालयका शाखा अधिकृत श्रीराम भट्टको नेतृत्वमा गएको अनुगमन टोलीले पाँच लिटर पेट्रोल बिक्री गर्दा ३ सय ५० मिलिलिटर तेल कम दिने गरेको पाइएको बतायाे ।

आपूर्ति मन्त्रालयको अनुगमन टोली बागमती सप्लायर्समा पुग्नासाथ सप्लायर्सका सञ्चालक प्रविन नायभ श्रेष्ठ भने फरार भएका थिए । उपभोक्तको उजुरीका आधारमा अनुगमन टोलीका प्रमुख भट्टले बिहीबार काठमाण्डौ र भक्तपुरका विभिन्न ४ पेट्रोल पम्पमा अनुगमन गरिएको बताए ।

अनुगमनलाई बिस्तारै राजधानी बाहिर पनि केन्द्रित गर्ने टोलीका प्रमुख भट्टले बताए । अनुगमन टोलीमा मन्त्रालयका साथै आपूर्ति व्यवस्थापन विभाग, नेपाल गुणस्तर तथा नापतौल विभाग र आयल निगम लगायतका प्रतिनिधीको सहभागी थियो ।