October 17, 2017

भक्तपुरका ईट्टा उद्योगबाट दुई बालकको उद्दार

पुरुषोत्तम गिरी / सल्यान ८ चैत । सल्यानका दुई बालकहरुको भक्तपुराका निभिन्न् ईट्टा उद्योग बाट उद्धार गरिएको छ ।

सानै उमेरमा नै पैसा कमाउने भनेर साथीहरुको लहलहैमा लागेका उनीहरुको भक्तपुरका बिभिन्न ईट्टा उद्योग बाट उद्धार गरि आज परिवारको जिम्मा लगाइएको छ ।

जिल्लाको बनगाड कुपिण्डे नगरपालिका अन्र्तरगत निगालचुँलाका १३ बर्षिय नेत्रलाल घर्ती र माझकाँडाका १३ बर्षिय नेत्रलाल पुनको उद्धार गरिएको हो । जिल्ला बालकल्याण समिती भक्तपुरको नेतृत्व तथा महानगरीय प्रहरी परिसर भक्तपुर र बाल बिकास समाजको समन्वयमा भक्तपुरका बिभिन्न ईट्टा उद्योग बाट उनीहरुलाई उद्धार गरिएको हो ।

भक्तपुरका सरस्वती ईट्टा उद्योग र महेश्वरी ईट्टा उद्योग बाट उनीहरुलाई उद्धार गरिएको हो । नयाँ कपडा, नयाँ जुत्ता, मोबाईल फोन तथा साथीसँगीहरु संग घुम्ने लगाएतका बिभिन्न चाहाना भएका बालक घरपरिवार बाट ती चाहाना पुरा नभए पछि सानो उमेरमा नै ईट्टा उद्योगमा काम गर्न जाने गरेको बाल बिकास समाजका दिपेन्द्र पराजुलीले बताए ।

महिला तथा बालबालिका कार्यालय सल्यानको समन्वयनमा आज ती बालकलाई परिवारको जिम्मा लगाईएको छ ।

सल्यान बाट दुई महिना अघि ती दुई बालक ईट्टा उद्योगमा काम गर्न गएका थिए । कक्षा चारमा पढ्ने उनीहरुले आफुहरु पैसा कमाउन भक्तपुर गएको बताएका छन् । पारिवारिक बेमेलका कारण उनीहरु ईट्टा उद्योगमा काम गर्न गएको बताईएको छ । दुबै बालकका घर बाट अभिभाबकहरु आए पछि ती बालकलाई अभिभावकहरु कै जिम्मा लगाईएको छ ।