October 23, 2017

ब्रेक्जिट सुरुवातीप्रति युरोपेली नेताहरुद्वारा दुःख व्यक्त

काठमाण्डौ,१७ चैत्र । ब्रसेल्समा व्यक्त प्रतिक्रियाहरु प्राय दुखपूर्ण रहे पनि बाँकि युरोप एकताबद्ध रहने संकेत नेताहरुले व्यक्त गरेका छन ।

ब्रिटिश प्रधानमन्त्रीको ब्रेक्जिट सम्बन्धी औपचारिक सूचनायुक्त पत्र पाए लगत्तै युरोपेली परिषदका अध्यक्ष डोनाल्ड टुस्कले ब्रसेल्स र लण्डन दुवैका निम्ति यो राम्रो दिन नभएको प्रतिक्रिया दिए ।

तर उनले ब्रेक्जिटको एउटा सकारात्मक पक्ष भन्दै त्यसले बाँकि २७ देशलाई इयुमै बसिरहन थप प्रतिबद्ध र एकताबद्ध बनाएको उल्लेख गरे । फ्रान्सका राष्ट्रपति फ्राँस्वाँ ओलाँदले ब्रक्जिट युरोपका निम्ति भावनात्मक रुपमा पीडादायी भएपनि ब्रिटेनका निम्ति आर्थिक रुपमै पीडादायी हुने बताए ।

जर्मन चान्सलर एंगेला मर्कलले जर्मनी वा अन्य युरोपेली मुलुक कसैले पनि एक बलियो र महत्वपूर्ण सदस्य विदा हुनुपर्ने यस्तो दिन आओस भन्ने नचाहेको बताइन । कतिपय युरोपेली नेताहरुले ब्रिटेनले ब्रेक्जिटको वार्ताका साथसाथै इयुसंग नयाँ व्यापार सम्बन्धबारे पनि वार्ता गर्न चाहेको प्रति कडा टिप्पणी गरेका छन ।

युरोपेली संघ इयुबाट ब्रिटेनको बहिर्गमनका शर्तहरुबारे चल्ने वार्तासंगसंगै दुई पक्षबिच नयाँ व्यापार सम्बन्धबारे पनि सहमति गर्ने ब्रिटिश योजनालाई उनीहरुले अस्वीकार गरेका छन ।