August 23, 2017

बैंक तथा वित्तीय संस्थाहरू जनता लुटने नयाँ माफिया –सांसदहरू

काठमाण्डौ, १७ फाल्गुन । सांसदहरूले बैंक तथा वित्तीय संस्थाहरू नयाँ माफिया बनेर उदाएको आरोप लगाएका छन् ।

सोमबार व्यवस्थापिका संसदको अर्थ समितिमा बोल्दै अधिकांश सांसदले बैंकहरूले चर्को व्याज असुलेर जनतालाइ लुटन  खोजेको आरोप लगाए ।

बैंकहरूले निक्षेपको व्याजदर खासै नबढाएको तर कर्जाको व्याजदरमा उच्च वृद्वि गरेर सर्वसाधारणको ढाड भाँचेको आरोप लगाए । बैठकमा बोल्दै सांसद रेवतीरमण भण्डारीले तरलता अभावको बहाना देखाएर बैंकहरूले प्रवाह गरेको कर्जामा चर्को ब्याजदर असुलेको भन्दै आक्रोस व्यक्त गरे ।

राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले बैंकहरूमा तरलता अभाव नभएको दाबी गरे । अहिले बैंकहरूसँग अधिक तरलता संचय भइसकेको उनको भनाई थियो ।

अर्थ मन्त्रालयका अनुसार हाल बैंक तथा वित्तीय संस्थाहरूले राष्ट्र बैंकसँग कायम गरेको मौज्दात १ खर्ब ७९ अर्ब पुगेको र उक्त रकम अनिवार्य नगद अनुपातका लागि कायम गर्नुपर्ने रहेको छ ।