March 26, 2017

बैंक जनताको जीवनस्तर उठाउन निर्णायक बन्नुपर्छ : प्रधानमन्त्री

काठमाण्डौ, २४ फाल्गुन । प्रधानमन्त्री पुष्पकमल दाहालले बैंक तथा वित्तीय संस्थाले वित्तीय स्रोत परिचालन गरेर जनताको जीवनस्तर उठाउन निर्णायक भूमिका निर्वाह गर्नुपर्ने बताउनुभएको छ ।

एलायन्स फर बैंकिङ अन भ्यालुज र एनएमबी बैंकले संयुक्त रुपमा काठमाण्डौमा आयोजना गरेको सम्मेलनको उद्घाटन गर्दै उहाँले पुँजी निर्माणका लागि जीवन रक्षक मानिएको बैंक तथा वित्तीय संस्था आर्थिक विकास र समृद्धिको आधार भएको बताउनुभयो ।

सरकारले केन्द्रीय बैंकमार्फत उत्पादनमूलक क्षेत्रमा लगानी प्रवर्द्धन  गर्न पहल गरेको बताउँदै प्रधानमन्त्रीले सरकारले लगानीका लागि उपयुक्त वातावरण बनाउन अधिकतम प्रयास गरिरहेको स्पष्ट पार्नुभयो ।

पूर्वाधार सम्मेलन र नेपाल लगानी सम्मेलनमा सरकार तथा प्रमुख प्रतिपक्ष दलले लगानीका लागि पूर्ण प्रतिबद्धता व्यक्त गरेको उल्लेख गर्दै उहाँले आगामी दिनमा नेपालमा थप महत्वपूर्ण बैंक खुल्ने विश्वास दिलाउनुभयो ।

कार्यक्रममा राष्ट्र बैंकका गभर्नर चिरिञ्जिवी नेपालले वित्तीय सुधारमा बैंक तथा वित्तीय संस्थाको प्रणालीलाई कानुनमार्फत थप समावेशी बनाइने बताउनुभयो । सम्मेलनमा विभिन्न मुलुकका ४० बढी बैंकिङ संस्थाका प्रमुख कार्यकारी अधिकृतको सहभागिता छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *