October 23, 2017

बेल्डाँडीमा मानव बेचविखन तथा ओसारपसार नियन्त्रण सम्बन्धी तालिम दिइदै

कञ्चनपुर,चैत्र ३१ । कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र बेल्डाँडी गाउँपालिकामा मानव बेचविखन तथा ओसारपसार नियन्त्रण सम्बन्धी अभिमुखीकरण तालिम सुरु भएको छ ।

महिला विकास केन्द्र कञ्चनपुरको सहयोगमा कार्यक्रम गरिएको बेल्डाँडी गाउँपालिकाले जनाएको छ । महिला विकास केन्द्र कञ्चनपुरकी सहायक अधिकृत शारदा पनेरु र सहायक महिला विकास कार्यालय निरीक्षक बालकुमारी चौधरीले मानव बेचविखन न्यूनीकरणका लागि बेल्डाँडीले कार्ययोजना बनाउनु पर्नेमा जोड दिएका थिए ।

बेल्डाँडी गाउँपालिकाका कार्यकारी अधिकृत धर्मराज जोशीले आफू बेल्डाँडीको बारेमा नयाँ भएता पनि समग्र देशमै गरिबी र अशिक्षाका कारण यस्तो समस्या आउने गरेको बताए ।

बेल्डाँडी ईलाका प्रहरी कार्यालयका प्रमुख निरीक्षक गिन्द्र बहादुर बोगटीले यहाँ खुल्ला नाका भएकोले कुनै पनि बेला दलालले यी नाका प्रयोग गर्न सक्ने भन्दै आफूहरुले सर्तकर्ता अपनाएको बताए । यसमा जनताले पनि प्रहरीलाई सहयोग गर्नुपर्नेमा उनको जोड थियो ।

बेचविखन न्यूनीकरण गर्नका लागि बेल्डाँडीले यस चालु आर्थिक वर्षका लागि ५ वटा कार्ययोजना बनाएको छ । कार्यक्रममा सहभागिहरुले यस्ता जनचेतनामूलक कार्यक्रमले मानव बेचविखन न्युनीकरण शून्य हुने राय प्रस्तुत गरेका थिए ।