बेलायतकी प्रधानमन्त्रीद्वारा इयु छोड्ने पत्रमा हस्ताक्षर

काठमाण्डौ, १६चैत्र । बेलायतकी प्रधानमन्त्री टरिजा मे ले बेलायतले युरोपेली युनियन छाड्ने प्रकृयाको औपचारिक थालनी गर्ने गरी बनाइएको पत्रमा हस्ताक्षर गरेकी छिन् ।

ब्रेक्जिट सम्बन्धी उक्त पत्र युरोपेली परिषद्का अध्यक्ष डोनाल्ड टुस्कलाई आज हस्तान्तरण गरिनेछ । पत्र हस्तान्तरण पश्चात् ब्रिटेनको इयुसँग रहेको ४० वर्ष लामो सम्बन्ध तोडिने सन्दर्भमा शर्तहरुबारे दुई वर्ष लामो छलफल सुरु हुनेछ ।

युरोपेली युनियनसम्बन्धी लिस्बन सन्धी अन्तर्गतको धारा ५० बमोजिम दिनुपर्ने सूचना सहितको उक्त पत्र बुधबार युरोपेली परिषद्का अध्यक्ष समक्ष बुझाइनेछ । इयुका निम्ति ब्रिटिश राजदूतले सो पत्र बुझाउनेछन् । लगत्तै प्रधानमन्त्री मे ले सांसदहरु समक्ष इयुबाट ब्रिटेन अलग्गिने प्रकृयाको औपचारिक शुरुवातबारे बताउनेछिन् ।

गत जुनमा भएको जनमत संग्रहमा ब्रेक्जिट पक्षधर विजयी भएपछि ब्रिटेनको इयुसँगको लामो सम्बन्ध तोडिने निश्चित भएको थियो ।

धारा ५० कृयाशील भएपछि अब एप्रिल २९ तारीख ब्रिटेन बाहेकका युरोपेली शीर्ष नेताहरुको शिखर सम्मेलनले युरोपेली आयोगलाई ब्रिटेनसँग अलग्गिने शर्तबारे वार्ता थाल्न जिम्मेवारी र अधिकार दिनेछ ।