बुटवल पावर कम्पनीले बर्ष २०२० सम्ममा थप ६७.६ मेगावाटका विद्युत आयोजना बनाउने

काठमाण्डौ १३ चैत्र । बुटवल पावर कम्पनीले बर्ष २०२० सम्ममा थप ६७.६ मेगावाटका दुई फरक परक विद्युत आयोजनाको निर्माण पुरा गर्ने बताएको छ ।
कम्पनीको स्वर्ण महोत्सवका अवसरमा आयोजित कार्यक्रममा बुटवल पावर कम्पनीका लिमिटेडका अध्यक्ष पद्म ज्योतिले उक्त कुरा बताएका हुन ।
कम्पनीले बर्ष २०२० सम्ममा निमार्ण कार्य सम्पन्न गरिसक्ने तयारीका साथ ताप्लेजुङ तथा पाँचथर जिल्लामा पर्ने कावेली नदीमा ३७.६ मेगावाटको कावेली ए र लमजुङ जिल्लामा पर्ने न्यादी नदीवाट ३० मेगावाटको न्यादी जलविद्युत आयोजनाको निमार्ण कार्यको सिलान्यास समेत गरिसकेको छ ।
नर्वेली कम्पनी स्ट्याटक्राफ्टको सहकार्यमा बुटवल पावर कम्पनीका ६० मेगावाटको खिम्ती प्रथम जलविद्युत आयोजना र क्यानेडियन कम्पनी एससीपी हाईड्रोको सहकार्यमा ४ मेगावाटको खुदी जलविद्युत आयोजना संचालनमा रहेका छन् ।
कम्पनीले मनाङ जिल्लामा १०० मेगावाटको लोअर मनाङ मस्र्याङदी जलविद्युत आयोजना र ८.५ मेगावाटको चिनो खोला जलविद्युत आयोजना निर्माण गर्ने तयारी गरिरहेको छ ।
बुटवल पावर कम्पनीले आफैंले १२ मेगावाटको झिमरुक विद्युत केन्द्र तथा ९.४ मेगावाटको आँधिखोला विद्युत केन्द्र संचालन गरिरहेको छ । आफ्नै वितरण प्रणाली मार्फत स्याङजा, पाल्पा, प्युठान र अर्घाखाँची जिल्लामा ५०,००० भन्दा बढी ग्रामिण घरधुरीहरुलाई विद्युत सेवा समेत प्रदान गर्दै आएको छ ।