बिस्केट जात्राको तयारी अन्तिम चरणमा

काठमाण्डौ, २६ चैत्र । आगामी चैत २८ गतेदेखि आठ रात नौ दिनसम्म मनाइने बिस्केट जात्राको तयारी अन्तिम चरणमा पुगेको छ ।

आगामी वैशाख ५ गतेसम्म चल्ने जात्राको मुख्य आकर्षणका रुपमा रहेको लिङ्गो उठाउनका लागि गुठी संस्थान भक्तपुरले सूर्यविनायक नगरपालिकास्थित चित्तपोलको सल्लाघारी वनबाट करिब ५५ हात लामा दुई लिङ्गो जात्रास्थलमा ल्याई पु¥याएको छ ।

वैशाख सुरु हुनु चार दिनअघि सुरु हुने बिस्केट जात्रामा मसान्तको दिन अर्थात् यस वर्ष चैत ३१ गते डोरीको सहायताले हजारौँ जात्रालुले लिङ्गो तानेर उठाउने गर्छन् ।

लिङ्गोलाई प्रत्येक वर्षको नयाँ दिन अर्थात् वैशाख १ गते साँझ ढाल्ने गरिन्छ । जात्राका लागि अत्यावश्यक मानिएको भैरब र भद्रकालीको रथ निर्माणसमेत अन्तिम चरणमा पुगेको छ ।

चैत २८ गते जात्राको सुरुको दिन रथ तान्नका लागि आवश्यक पर्ने डोरी खरिद गर्ने काम पनि सम्पन्न भएको जानकारी दिदै गुठी संस्थान भक्तपुरले गत वर्ष बिग्रिएका रथका विभिन्न भाग मर्मत र पित्तलको छानाको केही भाग नयाँ राखिने भएको बताएको छ ।

यस वर्ष जात्रा सञ्चालनका लागि करिब रु २८ लाख खर्च हुने अनुमान कार्यालयले गरेको छ ।