बिभिन्न कार्यक्रम गरि जनयुद्ध दिवस मनाईदै

काठमाडौं,१ फाल्गुन । माओवादीका विभिन्न घटकले आज जनयुद्ध दिवस मनाएका छन् ।

सशस्त्र बिद्रोह सुरु गरेको दिनलाई सम्झँदै पुष्पकमल दाहाल नेतृत्वको नेकपा माओवादी केन्द्र, मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी र नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले बेग्लाबेग्लै जनयुद्ध दिवस मनाएका छन् ।

दिवसका अबसरमा काठमाडौंको बिभिन्न स्थानबाट र्याली झाकी निकालिएको थियो । २०५२ साल फागुन १ गते तत्कालिन नेकपा माओवादीले रोल्पा र सिन्धुलीको दुई वटा प्रहरी चौकीमा आक्रमण गरेर जनयुद्ध सुरु भएको घोषणा गरेको थियो । यो विद्रोह १० वर्षपछि विस्तृत शान्ति सम्झौता मार्फत शान्तिपूर्ण रुपान्तरण भएको थियो ।

त्यसपछि पटकपटक सरकारमा पुगेको र तीनपटक सरकारको नेतृत्व गरेको भएपनि माओवादीले आफैले उठाएका मुद्दा संम्बोधन गर्न नसकेको चर्को आलोचना खेपिरहेको छ । २०६३ साल मंसिरमा शान्ति सम्झौतामा हस्ताक्षर भएर शान्ति प्रक्रियामा आएपछि माओवादी पटकपटक फुटेको छ भने झण्डै एक दर्जन दलसँग एकीकरण पनि गरेको छ ।