October 23, 2017

बितेको ३६ घण्टामा सोमालियामा खडेरीले २६ जना भोकभोकै मरे

काठमाण्डौ, ८ चैत्र । सोमालियाको दक्षिणी राज्य जुबाल्याण्डमा भोकमरीको कारण कम्तिमा २६ जनाको मृत्यु भएको सोमालियाको सरकारी रेडियो ‘मोगादिशु’ ले बताएको छ ।

केन्द्रीय आन्तरिक मन्त्री तथा खडेरी समितिका अध्यक्ष अब्दिरमान मोहमेद हुसैनले मर्नेको संख्या ३६ घण्टाको अन्तरालमा भएको बताएका छन् ।

‘उनले भोकमरी नियन्त्रणका लागि आपत्कालीन सहायताको अपिल गरेका छन् ।’ रेडियो मोगादिशुले जानकारी दियो ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्सले सोमालियामा ६ लाख डलर सहयोग आवश्यक भएको बताएका छन् ।

यो घटनासँगै सयौं परिवारले जुबाल्याण्ड छोडेको र सोमालियाको राजधानी मोगदिशुमा शरण लिएका छन् ।

‘हाम्रा गाईवस्तु र जमिन नष्ट भएका छन् । खोलाहरु सुकेका छन् र कुवा पनि छैनन् ।’ पीडित ६२ वर्षीय इब्राहिम एब्डोले भने ।

सोमालियामा सहयोग जुटाउनका लागि स्वयम् हलिउड कलाकारहरु– बेन स्टिलर, इमा वाट्सन, लिविस ह्यामिल्टन र अमेरिकी अभिनेत्री एलयाशा मिलानो लागि परेको अन्तर्राष्ट्रिय मिडियाहरुले जनाएका छन् ।