October 24, 2017

बालबालिकालाई आकर्षित गर्न घडी वितरण

ओखलढुङ्गा , २५ चैत्र । ओखलढुङ्गा जिल्लाको पात्ले ४ खुन्दुर्केमा अवस्थित जयबुद्ध आधारभूत विद्यालयले नयाँ शैक्षिक सत्रमा विद्यार्थी भर्नाको नयाँ कार्यक्रम सञ्चालन गरेको छ । अभियान अन्तर्गत भर्ना हुने विद्यार्थीलाई घडी वितरण गर्ने भएको हो ।
विभिन्न नयाँ कार्यक्रम सहित विद्यार्थी भर्ना अभियान सञ्चालन गर्ने विद्यालयले यसपटक विद्यार्थीलाई जनही ‘घडी’ वितरण गर्ने कार्यक्रम अघि बढाइएको प्रधानाध्यपक मगन कामतले जानकारी दिए ।
गत शैक्षिक सत्रमा विद्यार्थीलाई झोला र शैक्षिक सामाग्री वितरण गरिएको थियो । घडी दिने आकर्षक कार्यक्रमले बालबालिकालाई विद्यालयसम्म आउन प्रेरित गर्ने व्यवस्थापन समितिका अध्यक्ष दोर्ची शेर्पाले विश्वास व्यक्त गरे ।
नयाँ शैक्षिक सत्रका लागि वैशाख २ गतेबाट भर्ना अभियान शुरु हुने भएपनि विद्यालयले आफ्नो कार्यक्रम सार्वजनिक गर्दै अभियान अघि बढाएको स्थानीय शिक्षा सेवी ङावाङ पेम्वा शेर्पाले जानकारी दिए ।
सरकारको सन् २०१७ सम्ममा सवैलाई साक्षर बनाउने अभियान अन्तर्गत विद्यालयले शुरु गरेको कार्यक्रम स्वागत योग्य रहेको र सवै विद्यालयले यसरी नै नयाँ कार्यक्रम मार्फत बालबालिकालाई विद्यालयमा ल्याउने अभियान सञ्चालन गर्नु पर्ने शैक्षिक सुधारका लागि समन्वय समिति पात्लेका अध्यक्ष लाक्पा जी. शेर्पाले बताए ।