बाबुराम भट्टराईले भने- ‘प्रचण्ड एउटासँग लभ गर्छन बिहे अर्कैसँग, उनी विश्वासिला छैनन्’

बर्दिवास १० चैत्र । नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले कुनै एउटा जाति मात्र नेपाली अरु अनेपाली भन्ने अहंकारवादी सोचले देशमा विखण्डनको बिउ रोपेको बताएका छन  ।

राष्ट्रिय एकताको लागि हिमाल, पहाड, तराई/मधेस राष्ट्रिय अभियानकाक्रममा बर्दिवासमा आयोजित सभामा डा. भट्टराईले नेपालको निर्माणमा मधेशी समुदायहरुको योगदानको चर्चा गर्दै उहाँले सीता, गौतमबुद्ध सबैलाई नेपाली भनेर गर्व गर्ने समुदायले मधेशमा बस्ने मधेशीलाई गैरनेपाली देख्नु नै गलत भएको बताउँदै सबै समुदायलाई एकताबद्ध गराउने सूत्र भनेको संघीयताको उचित प्रबन्ध नै भएको स्पष्ट पारे ।

संयोजक भट्टराईले संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी समानुपातिक लोकतन्त्र सबैलाई विदेशीले ल्याइदिएको भन्नेहरुप्रति प्रतिप्रश्न गर्दै अग्रगामी कुराजति विदेशीको र पछाडि परेका कुराहरु चाहिं स्वदेशी भनेर दिल दिमाग भुट्ने गरेको धारणा राखे  ।

‘संघीयता भनेको एउटै घरमा दाजुभाइहरुलाई फरकफरक कोठा दिनुजस्तो मात्र हो, के यसो गर्दा घर टुक्रिन्छ ? घरमा अशान्ति हुन्छ ?’ उहाँले प्रश्न गर्नुभयो ।  उहाँले केही बेइमान र ठगहरुले इतिहासलाई बंग्याएर उपलब्धिलाई न्यूनीकरण गरेर भ्रम सिर्जना गरेको बताए । उनले नेपाल सबै समुदायहरु रहेकाले सबैको साझा चित्र नै नेपाल रहेको र त्यसलाई व्यवस्थापन गर्नु नै अहिलेको आवश्यकता रहेको बताए ।

संविधान संशोधनलाई त्यत्तिकै छाडेर चुनावतिर लैजान सरकारले योजना बनाइरहेको बताउँदै डा. भट्टराईले भने , ‘मैले प्रचण्डलाई ३० वर्ष झेलेको छु । उहाँ बिहानदेखि बेलुकासम्म कुरा फेर्नु हुन्छ । उहाँ एउटसँग लभ गर्नुहुन्छ र अर्कोसँग विवाह गर्नुहुन्छ तर, मैले जोसँग लभ गरेँ, उसैसँग बिहे गरेँ ।

समुदायलाई लडाएर राजनीतिक रोटी सेक्ने दाउ : सह-संयोजक झा

सहसंयोजक रामचन्द्र झाले संविधान जारी भएसँगै मधेशी जनताको आन्दोलनमा पूर्णता दिनका लागि डा. बाबुराम भट्टराई जनकपुर आएको प्रसंग उल्लेख गर्दै उहाँले नयाँ शक्तिले तराई मधेशको विकास र जनताको अधिकारको अवस्था बुझ्दै मधेशयात्रा गरेको बताए ।

उनले एमालेले गलत सन्देश फैलाइरहेको बताउँदै जनताको भावनाको विपरित कार्यक्रमहरु गरेर जनताले बलिदान दिनुपर्ने अवस्था आएको बताए । झाले मधेशी जनता खस आर्यविरोधी नभएको टिप्पणी गर्दै यदि शासक वर्गले अहंकार प्रदर्शन गर्दै गयो भने मधेशी जनता विरोधमा उत्रिनु स्वभाविक रहेको बताए ।

देशमा सामुदायिक लडाईं भयो भने राजनीतिक रोटी सेकेर खान पाइन्छ भन्ने यदि कसैले सोचेको छ भने त्यो दुर्भाग्यपूर्ण हुने चेतावनी दिंदै नेता झाले भने  ‘अहिले राष्टिय एकताका लागि सबै समुदायबीच एकता भाव पैदा गर्नु आवश्यक छ ।‘