बाढीले सप्तरीको तिलाठि–कैलाडि गाउँपालिकाका ३ दर्जन घर डुवानमा

दिनेश शर्मा / राजविराज, २७ जेठ । खाँडो खोलामा आएको बाढीले बाँध भत्काउँदा शनिवार सप्तरीको तिलाठि–कैलाडि गाउँपालिकाका करिव ३ दर्जन घर डुवानमा परेका छन् ।

चुरे पहाड हुदै बग्ने उक्त नदिको बाढीले एउटा मोटरसाईक बगाएर बेपत्ता बनाएको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार विहान करिव ११ वजे उर्लिएर आएको बाढी राजविराज–कुनौली सडक खण्डमा बन्दै गरेको पुल नजिकै बाँध भत्काएर गाउँ पसेको हो ।

बाढीले उक्त गाउँपालिकाको वडा नं. ३ का करिव ३५ घर डुवानमा परेको प्रहरी चौकी तिलाठिका असई रामकुमार यादवले वताए । बाढीले तिलाठिवाट राजविराजतर्फ आउँदै गरेको को १ प ६८७२ नम्बरको मोटरसाईकल समेत बगाएर बेपत्ता बनाएको यादवले जानकारी दिए । मोटरसाईकल चालक राजविराज ८ निवासी रामचन्द्र दासको प्रहरी टोलीले उद्धार गरेको छ ।

बाढीका कारण उक्त गाउँपालिका अन्तर्गत सकरपुरा, तिलाठी, लौनिया लगायतका स्थानीयवासी त्रासमा छन् । बाँध भत्किएपछि आवत जावत अवरुद्ध भएको छ । उक्त खोलाको बाढीले पकरी, सोनरा, दिघवा, विरौल, डुमरी–शिवथान, कजौली, तोपा, महादेवा लगायतका गाउँमा पनि त्रास उत्पन्न गराएको स्थानीयले बताएका छन् ।