August 20, 2017

बलजफ्ती संविधान कार्यान्वयन गर्न खोजे परिणाम भयानक –उपेन्द्र यादव

रामसेवक यादव

२५, माघ, कपिलवस्तु । संघीय समाजवादी फोरम नेपालका अध्याक्ष उपेन्द्र यादवले उत्पीडित समुदायलाई अधिकारबिहीन बनाएर बलपूर्वक संविधान कार्यान्वयन गर्न खोजे परिणाम भयानक हुने चेतावनी दिएका छन् ।

संविधान पुनर्लेखनको विकल्प नभएको भन्दै उनले संविधान पुनर्लेखन नगरिए मधेशी तथा आदिवासी जनजाति समुदायले अस्वीकार गरिसकेको संविधान कुनै पनि हालतमा कार्यान्वयन हुन नसक्ने बताएका छन् ।

संघीय समाजवादी फोरम, कपिलवस्तुको प्रथम एकता अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै यादवले भने, ‘मैले पटक पटक भनेको छु, संविधान पुनर्लेखनको विकल्प छैन । तर, प्रमुख तीन दल जनताको अधिकारसँग खेलाची गरिरहेका छन् । बलपूर्वक संविधान कार्यान्वयन गर्न खोजिए परिणाम भयानक हुन्छ ।’ मुलुक दुर्घटनामा फसे त्यसको जिम्मा तीन दल नै लिनु पर्छ ।

मधेशी, आदिवासी जनजाति, थारु, महिला, मुस्लिम तथा दलितहरुको अधिकार सुनिश्चित गर्न संविधानका त्रुटि सच्याएर पुनर्लेखन गर्नुको विकल्प नभएको यादवले बताए ।

मधेशी, आदिवासी जनजाति लगायत उत्पीडित समुदायलाई अधिकार नदिने एजेन्डामा कांग्रेस, एमाले र माओवादी सँधै एक ठाउँमा उभिने भएकोले यिनीहरुमाथि विश्वास नरहेको यादवले बताए ।