August 20, 2017

बर्दिया राष्ट्रिय निकुञ्जमा वन्यजन्तु सप्ताह सुरु

भावुक योगी, बर्दिया, १ वैशाख । बर्दिया राष्ट्रिय निकुञ्जमा वैशाख १ गते शुक्रबार देखि साताव्यापी जनचेतनामूलक कार्यक्रम सहित वन्यजन्तु सप्ताह सुरु भएको छ ।

‘युवाको अग्रसरता, संरक्षण र समृद्धिको सुनिश्चितता’ भन्ने नाराका साथ २०७४ साल वैशाख १ गते देखि ७ गते सम्म मनाइने २२ औं वन्यजन्तु सप्ताहको शुभारम्भ उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधिस बम कुमार श्रेष्ठले निकुञ्जको झण्डोत्तोलन गरेर गरेका हुन् ।

२२ औँ वन्यजन्तु सप्ताहको अवसर पारी वन्यजन्तु संरक्षण सम्बन्धी एक साताभरी विभिन्न चेतनामूलक कार्यक्रमको आयोजना गरी जनचेतनामुलक कार्यक्रम गरी मनाइने निकुञ्जले जनाएको छ ।

मानव र वन्यजन्तु बीचको द्वन्द्व न्यूनीकरणका लागि सहकार्य गर्न पनि २२ औं वन्यजन्तु सप्ताह १ गते देखि सञ्चालन हुन लागेको निकुञ्जका निमित्त संरक्षण प्रमुख रमेश थापाले जानकारी दिए ।

बर्दिया राष्ट्रिय निकुञ्ज कार्यालयका निमित्त प्रमुख संरक्षण अधिकृत रमेश कुमार थापाले संचालन गरेको समुद्घाटन कार्यक्रममा स्वदेशी तथा विदेशी पर्यटक संरक्षणप्रेमी स्थानीय वासिन्दा, उपभोक्ता समूह र समितिका पदाधिकारीहरु, युवा, महिला र विद्यार्थी तथा निकुञ्जका कर्मचारी एवं सुरक्षाकर्मीहरुको सहभागिता रहेको थियो ।

साताव्यापी कार्यक्रममा बर्दिया राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष, पर्यापर्यटन विकास मञ्च, मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति, इको क्लब, सेन्स नेपाल, महिला वातावरण उपसमिति, प्रकृति पथ प्रदर्शक संघ तथा चोरी शिकार नियन्त्रण युवा परिचालन अभियान लगायतको सहभागिता रहनेछ ।