August 23, 2017

बर्दियामा खानेपानीका मुहान सुके

भावुक योगी/ बर्दिया, २७ चैत्र । बर्दियाको ठाकुरबाबा नगरपालिकामा पर्ने अधिकांश खानेपानीको धारा सुक्न थालेका छन् ।

झण्डै तीन महिना अघि देखि बबई नदी किनारमा नहर निमार्णका लागि खोला, कुला सुकाएर ठाकुरद्वार क्षेत्रमा पुल निर्माण गर्न थालेका कारण ठाकुरबाबा नगरपालिकाका अधिकांश धारामा पानीका मुहान सुकेर पानी नआएपछि स्थानीयबासी मर्कामा परेका हुन् ।

ठाकुरबाबा नगरपालिकाको ठाकुरद्वार र सुर्यपटुवा लगायत गाउँका खानेपानी धारा सुक्न थालेको स्थानीय हेमन्त आचार्यले बताएका छन् ।

त्यस्तै ठाकुरबाबा नगरपालिकाको बगनाहा, बर्गदा, नेउलापुर, लगायत अधिकांश गाउँका कुलामा पानी नहुँदा बेमौषमी तरकारी खेति गर्ने कृषकहरु समेत मर्कामा परेका छन् ।

नहर निर्माण र कुलामा पुल निर्माणका लागि यति लामो समय सम्म गाउँघरका कुलामा नदी र खोला नालाबाट आउने पानीको मुहान सुकाउँदा घरघरमा रहेका धारा सुक्न थालेका छन् ।

वर्षामा पनि नदीबाट खोला र कुलामा सिँचाईका लागि पानी नआउने भएपछि यस क्षेत्रका नेउलापुर, कञ्चनपुर, गोदाना लगायतका विभिन्न गाउँमा अहिले जमिन मुनिबाट पानी तान्ने बोरिङ गाड्ने काम चलिरहेको कृषकहरुका अगुवा शान्ता भण्डारीले बताएकी छन् ।