August 19, 2017

 बर्दियाको भुरीगाउँमा रात्रि बस दुर्घटना ३४ जना घाईते, ७ जनाको अवस्था गम्भिर

भावुक योगी / बर्दिया, चैत २८ । पुर्व पश्चिम राजमार्ग अन्तरगत बर्दियाको ठाकुरबाबा नगरपालिका १ भुरीगाउँमा गएराति ११ बजे यात्रु बोकेको रात्रि बस दुर्घटना हुँदा ३४ जना घाईते भएका छन् ।

सुदुरपश्चिमको दार्चुलाबाट काठमाण्डौँ तर्फ गईरहेको ना ६ ख १२२७ नम्बरको रात्रि बसले बिपरित दिसाबाट आईरहेको मोटरसाईकललाई जोगाउन खोज्दा दुर्घटना हुँदा ३४ जना यात्रु घाईते भएको ईलाका प्रहरी कार्यालय भुरीगाउँले जनाएको छ ।

बर्दियाको भुरीगाउँ बजारमा रहेको स्थानिय रेडियो टाईगर एफ. एम. र श्रीकृष्ण प्रणामी मन्दिरको बिचमा पर्ने सडकमा रात्रि बस दुर्घटना भएको हो ।

यात्रुबाहक बस राजमार्गमै पल्टिएकाे थियो । अधिकाँश यात्रुको टाउको चोट लागेको र केहीको हात खुट्टा भाँचिएको प्रहरीले जनाएको छ । घाईते मध्ये ७ जनाको अवस्था गम्भिर रहेको छ ।

घाईते सबैलाई भुरीगाउँको स्थानिय केपी पोलीक्लिनिकमा प्राथमिक उपचारपछी थप उपचारका लागि नेपालगंज मेडिकल कलेज कोहलपुर पठाईएको ईलाका प्रहरी कार्यालय भुरीगाउँले जनाएको छ ।