September 25, 2017

बद्लिदैन– नेचर, कल्चर र सिग्नेचर

संकेत कोइराला /काठमाण्डाै १७ असार । एउटा गिद्धको बच्चाले आफ्नो बालाई भनेछ– ‘बा, आज मलाई मान्छेको मासु खान मन लागेको छ ।’

गिद्ध भुरर्र उडेर गयो र बेलुका मासु लिएर आयो । बच्चाले सोध्यो– ‘यो के को मासु हो ?’ बाउ गिद्धले उत्तर दियो– ‘सुँगुरको ।’ बच्चाले बालहठ छोडेन । गिद्ध फेरि उड्यो । यसपटक गाईको मासु ल्याएर बच्चालाई फकाउने प्रयास गर्‍यो । अहँ, बच्चा चुप लागेन । उसले जुक्ति लगायो । आफुले ल्याए मध्येको एक टुक्रा गाईको मासु मन्दिर र अर्को टुक्रा सुँगुरको मासु मस्जिदमा मिल्काइदियो । अनि त के थियो र, केही छिनपछि मान्छेका लासहरु बग्रेल्ती लडेका देखिए । उसले छानी छानी मान्छेका मासु ल्याएर बच्चालाई तृप्त बनायो ।

बाउले बहादुरीसाथ आफ्नो इच्छा पुरा गरेको देखेर बच्चाले उत्सुकता जगाउँदै जिज्ञासा राख्यो– ‘बा यस्तो चमत्कार कसरी सम्भव भयो ?’ सन्तान सुखमा रमाएको गिद्धले उत्तर दिँदै भन्यो– ‘छोरा, केही धुर्त मान्छेहरुले आफ्नो स्वार्थको रोटी सेकाउन धर्म नामको भाइरस अाफै ल्याएका छन् । यही धर्मका नाममा सजातीयलाई मार्न र मर्न तयार छन् । धन्य, हाम्रो कुनै धर्म छैन् । आनन्दले मासु खा बस । अरु के के चाहिन्छ भन ।’ यतिबेला हाम्रा नेतालाई संघीय गणतन्त्र र गिद्धको बच्चालाई मान्छेको मासु उस्तै भएको छ ।

सिंहदरबारको अधिकार गाउँमा लगिएको भनेर आत्मरतिको ब्याजमा राजनीति गर्नेहरुले एकाध छाक चुनाव त जित्लान तर अन्ततः त्यो गुलियोमा घोलिएको विष सावित हुने पक्का छ । न सिंहदरबार अधिकार छोड्न तयार छ, न जनप्रतिनिधिमा विकासको रथ तान्न सक्ने सामर्थय छ । सिंगो देशको शक्ति केन्द्रित हुँदा त आर्थिक वर्षको अन्त्यमा त्यो पनि लतारिएर ४० प्रतिशत विकास खर्च पुर्‍याउने संयन्त्र रहेको मुलुकमा वित्तीय अनुशासन र कामको प्रतिवद्धता कसरी एउटै बाटोमा हिँडला ? चुनावअघिसम्म स्थानीय निकायको अधिकारका विषयमा बहस, पैरवी गर्ने तिनै नेताहरु अहिले स्याण्डविचजस्तै चेपुवामा परेका छन् ।

राजा फाल्नुलाई गणतन्त्र मानेका तिनीहरुलाई बाटामा अरु ‘ब्रेकर’ हुन्छ भन्ने विषयको एक पित्को ज्ञान पनि छैन । त्यसैले त चुनाव जितेर कुर्सीमा नबस्दै मोबाइल सेट, गाडी र बारीका पाटाको झमेलामा अल्झिएका छन् । संघीयताको बाँझो जमिनमा खादा, सलामी, मलामी, औंसी पूर्णिमा, छठ, दशैं तिहार, उँधौली उँभौली, क्रिसमस मान्ने नमान्ने तर्क, कुतर्क र बहसमा दिन कटनी, मानो पचनी उनीहरुको रुटिन भएको छ । धर्म, संस्कृति मानिसको व्यक्तिगत निर्णयको अधिकार क्षेत्रभित्र पर्छ भन्ने सामान्य ज्ञानसमेत उनीहरुभित्र पस्न सकेको छैन । विश्वका विख्यात कम्युनिष्ट नेता माक्र्स, लेनिन, माओत्सेतुङ, फिडेल क्याष्ट्रो हुँदै लिवियाली नेता कर्नेल गद्दाफीसम्मलाई पाखुरा तनक्क तन्काएर स्यालुट गर्ने यहाँका क्रान्तिकारी नेताका ‘ज्वालामुखी’ कार्यकर्ताहरु अहिले पनि त्यही एकांकी र पुरातन बर्को ओढेर बसिरहेका छन् ।

यस्तो नाटक गरिरहँदा आफ्ना श्रद्धेय, बन्दनीय, पुजनीय नेताहरु रामदेवको प्रशंसामा विन्तीपत्र भएर प्रस्तुत भएको दृश्यले उनीहरुलाई कति पनि घोचेको छैन । बरु रामायणमा वर्णन गरिएको रामकथाजस्तो क्याष्ट्रोको कथा सुनेका तिनका लागि यो खबर पनि एउटा कागजी घोडा भन्दा पर केही होइन । हाम्रा नेताका लागि रामदेव सिक्काका ती पाटा हुन– जसको एकातिर रामदेवको कालो दारी अर्कातिर नरेन्द्र मोदीको सेतो दारीको तस्वीर छ । रामदेवलाई खुसी पार्न सकियो भने राजनीतिक सरुवा बढुवा, घटुवा, निलम्बन, फुकुवा, तारेख, तामेलीका सम्पूर्ण छक्कापञ्जा, दाउपेच मिलाउन सकिने उनीहरुको विश्वास छ । पतञ्जलीले भोलि ‘सत्ता’ ब्राण्डको जिरा मसिनो, मनसुली चामल बजारमा ल्याउने हो भने यहाँको स्थानीय उत्पादन फालाफाल हुने निश्चित छ । दलका झोले, हुक्के, बैठके, चण्डमुण्डहरुको यो चामल किन्न भीड लाग्ने छ ।

पुलिसको डन्डा, पानीको फोहोरा त्यो भीड नियन्त्रणका लागि काममा आउने छ । गाईको गहुँतसमेत बेचेर विदेशी मुद्रा आर्जन गरी देश समृद्ध बनाउने रामदेव र सत्ताको आयु लम्ब्याउन उस्तै परे कोमा पुगेका घरका सदस्य त्यागेर उनको शिविरमा जान सक्ने नेपाली कामदेवहरुको तुलनै हुन सक्दैन । न रामदेव बन्न सजिलो छ, न फिडेल क्याष्ट्रो नै । संसारको सवैभन्दा बढी चिनी उत्पादन गर्ने क्युवाको व्यापारमा अमेरिकाले आर्थिक नाकाबन्दी लगाउँदा समेत कतैबाट धागोसमेत अनुदान नलिने फिडेल क्याष्ट्रो, मीठो बोलेर नेपालका सबै तीता जडिबुटी भारत लैजाने रामदेव दुवै देशभक्त नागरिक हुन् । यिनीहरुले आआफ्नो आदर्श बेचेर देशको इज्जत धरहराजस्तै उच्च राखेका छन् । हामी भने घर पोलेर आएको रापमा रमाइरहेका छौं ।

समाधानमाथि समस्या खोज्ने बौद्धिक जगत, भोक हडताल गरेर चर्चित बन्ने डाक्टर, सवै उद्योग ठप्प गराएर राजनीतिक उद्योग चलाउने नेता, राजश्व मारेर देशभक्त ठहरिएका कर्मचारी–व्यापारी, नेताको अनुमति लिएर समाचार बनाउने पत्रकार, थुन्दा र छोड्दा नै घुस खाने पुलिस प्रतिनिधि राष्ट्रवादका प्रमुख पात्र बनेर देखा परेका छन् । यिनीहरु दशैं, तिहार, परिवारको जन्मोत्सव मात्र हैन, आफुले पालेको कुकुरको बर्थ डे समेत नेताका घरमा मनाउन सोख राख्छन् । दशैंमा जन्म दिने बाआमा भड्खालामा परुन, नेतासंग एकमाना अक्षता लाएको फोटो फेसबुकमा टाँसेर छातीको आयतन बढेको ढाँचा देखाउँछन् । देशका हरेक क्षेत्रमा पँजनी गर्छन् । यिनीहरुको नजरमा शौचालय, बाचनालय, मदिरालयको भेद छुट्टिदैन । आफ्नो स्वार्थका लागि नेतालाई नाङ्गै सडक घुमाएर जवाहरतको पोसाक पहि¥याएको हास्यास्पद अकवर वीरवल कथाको रिमिक्स नाटक मञ्चन गर्न पछि पर्दैनन ।

अन्त्यमा यिनीहरु पहाडको टुप्पोमा हिँडेको उँटभन्दा माथिको हैसियतमा पुग्दैनन् । पुगेपनि टिक्दैनन् । टुप्पोबाट फेदीतिर झर्न थालेपछि त आखिर उँटको हैसियत पनि स्पष्ट हुँदै जान्छ । जिन्दगी दुईदिनको हुन्छ । एकदिन तपाईंको हितमा हुन्छ, एकदिन विरुद्धमा । जुन दिन हितमा हुन्छ, त्यो दिन घमण्ड गर्नु हुँदैन । र जुन दिन विरुद्ध हुन्छ, त्यो दिन संयम गुमाउनु हुँदैन । गाली सुन्न नचाहनु व्यक्तित्व पतनको पूर्वाभ्यास हो । भारत वर्षकै कुरा गरौं न । निर्धन ब्राम्हण चाणक्य विद्वान विशाल भारतीय साम्राज्यका प्रधानमन्त्री बने । चाणक्य नीति, कौटिल्यको अर्थशास्त्र आज अकाट्य नीति विज्ञान बनेका छन् । प्रधानमन्त्री भएर पनि कुटीमा बस्थे । उनले कुटीबाटै सत्ता सम्हाले । चाणक्यको स्वाभिमानी जीवनबाट प्रभावित भएर चिनियाँ यात्री फार्‍हानले उनको स्वभावलाई यसरी लेखेका छन– ‘जहाँका प्रधानमन्त्री साधारण कुटीमा आफ्नाे जीवनको इहलीला समाप्त गर्छन, त्यहाँका जनता भव्य महलमा ऐयासीसाथ आफ्नाे जीवन भोग गर्छन ।

जहाँका प्रधानमन्त्री राजदरवारमा नानाथरि सुखभोगका सामग्रीसाथ जीवन गुजारा गर्नमा तल्लिन हुन्छन, त्यहाँका जनता साधारण झुपडीमा दुखसाथ आफ्नाे जीवन गुजारा गरिरहेका हुन्छन् ।’ घोडा जतिसुकै पाइनदार भएपनि जोत्न सिङ नभएको पुँडे गोरु नै काम लागेजस्तै देशका डाक्टर त यहीँका नेता नै हुन । आस्था विनाको जीवनले आफ्नो मूल्यवोध गर्न सक्दैन । त्यो जीवन निरर्थक हुन्छ । आस्था हृदयभित्र पाक्ने बाली हो । यसलाई आपैmले भित्र्याउन सक्नुपर्छ । आस्थाविनाको हृदय पत्रे चटानको अर्को रुप हो । यस्तो हृदयमा न कसैसित प्रेम हुन्छ । न ममता न दया न श्रद्धा । देउरालीमा अविर घसिएको रातो ढुंगालाई देखेर शिर झुकाउनुको उर्जा के हुनसक्छ ? सम्पूर्ण मानव जीवन भाव, भक्ति र समर्पणको खेती हो । समय नामको लगाममा हामीले यी तमाम कर्तव्यलाई मंसिरे खलो रित्याए भैm रित्याएका हुन्छौ ।

भनिन्छ नि– नेचर , कल्चर र सिग्नेचर सजिलै बदलिदैन । हिंस्रक, पापी र असत्यवादी मानिस बुद्धको अनुहार लिएर जन्मिएपनि शान्तिकामी हुन सक्दैन । बुद्ध, एरिस्टोटल प्लेटो कसैको बाद थिएन, समूह थिएन, झण्डा थिएन । तर विचारका लागि सधैं सधैं बाँचेका छन् । फिडेल क्याष्ट्रोका नाममा विमानस्थल, विश्वविद्यालय, कारखाना, अस्पताल खुलेका छैनन तर उनको नाम नसुन्ने कोही छैन् । मानिसका १८ परीक्षा हुन्छन । सवैमा सर्वोत्कृष्ट दरिएको व्यक्ति अर्थ परीक्षामा चिप्लिन सक्छ । श्रीमती पाल्ने हुति नभएर बहलाउन तराई झरेका जंगबहादुरले सन्काहा शैलीका राजा राजेन्द्रका कमजोरी पत्ता लगाए ।

उनले हात्तीलाई जालमा पार्ने देखि उनको स्वभावजन्य क्रियाकलाप सुहाउने कर्म सवै गरिदिए । आखिर सियो भएर पसेका जंगबहादुर राजनीतिक बाघचालमा फाली भएर निस्किए । उनले छोराहरुको साइनो राजपरिवारमा गाँसेर समान कदको परिचय मात्र दिएनन, श्री ३ लेखेर आफैलाई राजामहाराजाको कोटीमा पुर्‍याए । अमेरिकाजस्तो वैभवशाली राष्ट्रका तात्कालिन राष्ट्रपति जोन अफ केनेडी देशको पैसा जोगाउन चिट्ठीको खाम थुक लगाएर बन्द गर्थे । अरु देशमा पनि राजनीति अस्थिर छ । मान्छे मारिएका छन् । श्रीलंकामा डेढ लाख मानिस मारिए । अफगानिस्तान, पाकिस्तान, इजरायल जताततै मान्छे मारिएका छन् । भीडन्त भएका छन् । तर त्यहाँको शिक्षा र प्रशासन संयन्त्र अलिकति पनि हल्लिएको छैन् । सानो देश भएर के भो, श्रीलंकाको शिक्षा भोग विलास र सुख सुविधामा हैन, नेताको उचाई इमान्दारी र निष्ठामा चहकिलो बन्दै जान्छ ।

त्याग नेतालाई खार्ने अचुक अस्त्र हो । विश्वका कुनै पनि राजनेता सुख, दुखलाई समभावमा हेर्ने चरित्रका कारण मर्यादाको उपल्लो श्रेणीमा पुगेका छन् । दक्षिण अफ्रिका मात्र हैन, अफ्रिकी भूगोल नै नेल्शन मण्डेलाको नामबाट परिचित छ । अंग्रेजले भारतमा तोप, गोला, बारुदको साम्राज्य जमायो तर त्यो भौतिक तागतले लुरे महात्मा गान्धीले लिएको अहिंसाको ब्रतलाई अलिकति हल्लाउन त के फर्केर हेर्न पनि सकेन् । म्याक्सिम गोर्की आफु भात खान नपाएर मरे तर उनले आफ्नो ख्याती आमा कृतिमार्फत संसारका हरेकको जीब्रो स्थापित गराए । लोभ अपराधको जननी हो । यदि अम्लेठ खानेले अण्डाको माया गर्‍यो भने के हुन्छ ? सम्पतिसंगको साइनो र राजनीतिक ब्रतबीचको अन्तर पनि यही नै हो । sanketkoirala07@gmail.com