October 20, 2017

बदनियतपूर्वक ल्याइएको संशोधन प्रस्ताव अस्वीकार्य : केपी अोली

काठमाण्डौ, ११ वैशाख । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी ओलीले प्रदेश सिमांकनको विषयलाई थप खुकुलो बनाउँदै चलाखी र गलत ढंगले संविधान संशोधन प्रस्ताव अघि सारेको आरोप लगाएका छन् ।

व्यवस्थापिका संसदको सोमबारको बैठकमा समय लिएर बोल्दै अध्यक्ष ओलीले सीमांकनका लागि प्रदेश सभाको सहमति चाहिने व्यवस्थालाई चलाखीपूर्वक संशोधन गरेर सहमति बिना नै प्रदेशको सीमांकन गर्न सक्ने गरी संविधान संसोधन प्रस्ताव दर्ता गरिएको बताए । उनले बजेट लगत्तै निर्वाचन गर्ने जस्तो असुहाउँदो काम हुन नसक्ने दाबी गर्दै एमाले सधै सकारात्मक रहेको भन्दै बदनियतपूर्वक ल्याइएको प्रस्ताव स्वीकार्य नहुने उल्लेख गरे ।

साथै आईजीपी प्रकरणमा समेत सरकारले गलत निर्णय गरेको भन्दै सर्वोच्चको निर्णयपछि पनि सरकार नसच्चिएर गल्ती गरेको आरोप ओलीले लगाए । उनले भाषणको क्रममा माखेसाङ्लो भन्दा माखेलाई अर्कै सन्दर्भमा प्रयोग गरेर दुष्प्रचार गरिएको समेत गुनासो गरे ।